राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । परिमार्जित लेटर ग्रेडिङ पद्दतिबाट सार्वजनिक गरिएको नतिजामा ६१ दशमलब ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । गत वर्षको एसईईमा ४७ दशमलब ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । राष्ट्रिय स्तरमा गत वर्षभन्दा यस वर्ष १३ दशमलब ९५ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका छन् । देशभर दुई लाख ७१ हजार २९९ विद्यार्थी उत्तीर्ण र एक लाख ६७ हजार ५९७ विद्यार्थी अनुत्तीर्ण भएका छन् । करिब एक दशकअघि सुरु भएको लेटर ग्रेडिङ पद्दतिमा अनुत्तीर्णको व्यवस्था गरिएन । तोकिएको विषयगत ग्रेड र जीपीएका आधारमा कक्षा ११ मा भर्ना हुन पाउने व्यवस्था भयो । यसले विद्यार्थीको सिकाइ उपलब्धि कमजोर भएको भन्दै गत वर्षबाट विषयगत ३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीको नतिजामा एनजी उल्लेख गर्ने व्यवस्था भएपछि कक्षा ११ पढ्न सबै विषयमा कम्तिमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने बाध्यता विद्यार्थीलाई भयो ।
यस वर्ष राष्ट्रिय स्तरमा एसईई नतिजामा उल्लेख्य सुधार आएको भए पनि मकवानपुर जिल्लाको समग्र नतिजा कमजोर देखिएको छ । मकवानपुरका ४६.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ५ हजार ८ सय ८७ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा २ हजार ७ सय ५९ जना मात्रै उत्तीर्ण भएका छन् भने ३ हजार १ सय २८ जना विद्यार्थी अनुत्तीर्ण (ननग्रेडेड) भएका छन् । मकवानपुरबाट ५ जनाले जीपीए ४ ल्याउँदा ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ३ सय ७८ जना छन् । ३.२ जीपीएदेखि ३.६ जीपीए ल्याउने ८ सय २ जना विद्यार्थी छन् भने २.८ जीपीएदेखि ३.२ जीपीए ल्याउने ९ सय ८१ जना विद्यार्थी छन् । २.४ जीपीएदेखि २.८ जीपीए ल्याउने ५ सय ३९ जना छन् भने २.० जीपीएदेखि २.४ जीपीए ल्याउने ५४ जना छन् ।
मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकाको नतिजा जिल्लाको औसतभन्दा बढी भए पनि अन्य ९ वटै पालिकाको नतिजा जिल्लाको औसतभन्दा न्यून छ । हेटौंडा उपमहानगरपालिकाका विद्यालयहरुको समग्र उत्तीर्ण प्रतिशत ५८.१९ हुँदा थाहा नगरपालिकाका विद्यालयहरुको ४३.८४ प्रतिशत नतिजा छ । मकवानपुरगढी गाउँपालिकाका ४३.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा इन्द्रसरोवर गाउँपालिकाको ३६.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लाको मनहरी गाउँपालिकाका ३३.१ विद्यार्थी उत्तीर्ण भएका छन् । कैलाश गाउँपालिकाको २७.९५ प्रतिशत, भीमफेदी गाउँपालिकाको २३.४ प्रतिशत र बकैया गाउँपालिकाको १८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै, बागमती गाउँपालिकाको १६.६१ प्रतिशत र राक्सिराङ गाउँपालिकाको ६.४५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
अहिले कक्षा १२ सम्मलाई विद्यालय शिक्षा बनाइएको भए पनि कक्षा १० को एसईई परीक्षालाई बढी चासो दिने गरिएको छ । अधिकांश माध्यमिक विद्यालयमा कक्षा १० सम्ममात्र पढाइ हुने भएकाले समग्र विद्यालयको शैक्षिक गुणस्तर मापन गर्ने एउटा आधार एसईई बन्ने गरेको छ । कक्षा ९ सम्म प्रशस्त विद्यार्थी उत्तीर्ण भएका कयौं विद्यालयको एसईई नतिजा न्यून हुनु र अझ कतिपय विद्यालयको उत्तीर्ण दर शून्य हुनुले लेटर ग्रेडिङ पद्दतिको प्रभावकारितामाथि प्रश्न उठ्न गरेको छ । विद्यार्थीको औसत क्षमता मूल्यांकन गरेर सकेसम्म सहजरुपमा उच्च शिक्षातर्फ प्रवेश गराउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको लेटर ग्रेडिङ पद्दतिमा मकवानपुर जिल्लाका आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण हुनुले एसईईको नतिजा अझै कमजोर रहेको पुष्टि गर्दछ । अझै पनि धेरै विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने सपना कक्षा १० मै अन्त्य हुने अवस्था छ । नतिजा सुधारका लागि समयसापेक्ष पाठ्यक्रम, शिक्षण सिकाइ प्रक्रिया र मूल्यांकन प्रणालीमा सुधार गर्नुपर्ने देखिएको छ ।
