हेटौँडा : मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनीमा खुर्पा प्रहार गरी स्वास्थ्य चौकीका कर्मचारीले एक जनाको हत्या गरेका छन् ।

शनिबार बिहान ५ बजेको समयमा बेतिनी स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी बारा जिल्लाको निजगढ नगरपालिका–३, सिंगोलका ३५ वर्षीय कुमार थापाले खुर्पा प्रहार गरेर ५७ वर्षीय रामबहादुर वाईबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको टोलीले थापालाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे अनुसन्धान भइरहको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार रामबहादुर वाईबा घरबाट नजिकैको गोठतर्फ गाइवस्तुलाई घाँस हाल्न भनी पुरानो स्वास्थ्यचौकीको भवन हुँदै जाने क्रममा थापाले पछाडीबाट खुर्पा प्रहार गरी हत्या गरेका हुन् । थापाको मानसिकरुपमा विक्षिप्त देखिएको प्रहरीको भनाइ छ । स्थानीयले पनि केही समययता थापा मान्छे काट्छु भन्दै हिँड्ने गरेको बताएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा पनि मानसिकरुपमा सन्तुलन गुमेको जस्तो उत्तर दिने गरेको जनाएको छ ।