हेटौंडाः कृषि तथा पशुपंछी विकाससम्बन्धी एक दिवसीय अभिमुखीकरण गोष्ठी बिहीबार हेटौंडामा सम्पन्न भएको छ । बागमती प्रदेशको कृषि तथा पशुपंछी विकास मन्त्रालयको आयोजना तथा मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा गोष्ठी भएको हो ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षता तथा बागमती प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा पशुपंछी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. गौरीमान श्रेष्ठको विशिष्ट आतिथ्य रहेको थियो । कृषि तथा पशुपंछी विकास मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत झरना पन्थी, मकवानपुर उद्योग वाणिज्य संघका सचिव कुलप्रसाद चौलागाईं, कृषि प्रवद्र्धन समितिका संयोजक निलमकुमारी पाण्डेलगायतको आतिथ्य रहेको थियो ।
संघका अध्यक्ष रानाभाटले कृषकहरुलाई आफ्नो कार्यक्षेत्रमा दक्ष भएर काम गर्न सघाउने हिसाबले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले कार्यक्रममा प्रदान हुने जानकारीहरु कृषकहरुको लागि महत्वपूर्ण हुने बताउनुभएको थियो । प्रमुख अतिथि श्रेष्ठले मकवानपुर जिल्ला कृषिको लागि सम्भावनायुक्त रहेको बताउनुभयो । किबी, च्याउजस्ता कृषि उपजहरु आय बृद्धिको लागि सम्भावनायुक्त रहेको उहाँको भनाइ छ । कृषि पर्यटनको दृष्टिकोणबाट पनि मकवानपुर जिल्लामा सम्भावना रहेको भन्दै निर्देशक श्रेष्ठले कृषकले उत्पादन गर्न जानेका हुन्छन् र त्यसको बजार व्यवस्थापनको लागि उद्योग वाणिज्य संघसँग सहकार्य अत्यावश्यक हुने जानकारी दिनुभयो ।
एक गाउँ एक उत्पादनको अवधारणामा पनि उद्योग वाणिज्य संघसँग मिलेर काम गर्न सकिने उहाँले बताउनुभयो । प्रदेश सरकारले साना सिंचाइ कार्यक्रमहरु महत्वका साथ गरिरहेको र स्वदेशी कच्चा पदार्थमा आधारित कृषि औजार कारखानालाई सहयोग गरिरहेको जानकारी दिनुभयो । ३८ करोड लागतमा प्रादेशिक कृषि थोक बजार हेटौंडामा निर्माण गरिएको उहाँले बताउनुभयो ।
निर्देशक श्रेष्ठले पशुपंछी तथा मत्स्य विकाससम्बन्धी जानकारी गराउनुभएको थियो । मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत झरना पन्थीले कृषिसम्बन्धी कार्यपत्र प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा कृषि विकास बैंकका अधिकृत सञ्जय विष्टले कर्जा प्रवाह तथा अनलाइन बैंकिङजस्ता विषयबारे प्रस्तुतिकरण गर्नुभएको थियो । संघका कृषि प्रवद्र्धन समिति सदस्य तथा युवा कृषि उद्यमी फेन्चु लामाले विषादीले मानव जीवनमा पार्ने असर, विषादीको सुरक्षित प्रयोग तथा भण्डारण, कृषि तथा पशुपालनमा सम्भावना र चुनौती, बजार व्यवस्थापन आदि विषयबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा मकवानपुर जिल्लाको मनहरी, राक्सिराङ, कैलाश, थाहा, इन्द्रसरोवर, भीमफेदी, मकवानपुरगढी, बकैया र हेटौंडाका कृषकहरुसहित ५५ जनाको सहभागिता रहेको थियो ।











