हेटौंडाः लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । जिल्लास्तरीय लागूऔषध नियन्त्रण समन्वय समिति मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो ।

प्रत्येक वर्ष जुन २६ तारिखका दिन अन्तर्राष्ट्रिय लागूपदार्थ तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिएको छ । यस वर्ष ‘स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धताः लागूऔषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता’ भन्ने नारासहित दिवस मनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट सुरु गरिएको प्रभातफेरी कार्यक्रम हेटौंडा बसपार्क, टिसिएन रोड, सीमा चोक हुँदै बुद्धचोकमा कोणसभामा परिणत भएको जिल्ला प्रशासन कार्यालयका मकवानपुरका सहायक प्रमुख राजेन्द्रप्रसाद कँडेलले बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, सुरक्षा निकायका प्रमुख, हेटौंडा उपमहानगरपालिका प्रमुख, गैरसरकारी संस्थाका प्रमुख, सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलगायत बिभिन्न संघसंस्था र सरोकारवालाको उपस्थिति रहेको थियो ।

पछिल्लो समय जिल्लामा लागूऔषध लगायत विभिन्न किसिमका आपराधिक घटनाहरु बढिरहेको र यसको नियन्त्रण गर्न सबैको हातेमालो र सहकार्य आवश्यक रहेको कँडेलले बताउनुभयो ।