हेटौँडा : बागमती प्रदेश सरकारले अत्यावश्यक सामग्री ढुवानी तथा विपद् व्यवस्थापनमा ड्रोन प्रविधिको प्रयोग सम्बन्धी परीक्षण गरेको छ । आइडिया हब इन्टरनेशनल प्रालिसँगको सहकार्यमा प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बुधबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा उक्त परीक्षण गरेको हो ।
२५ किलो भार वहन गर्न सक्ने ड्रोनको सफल परीक्षण गरिएको थियो । परीक्षण कार्यक्रममा प्रदेश प्रमुख मन्त्री बहादुर सिंह लामा प्रमुख आतिथ्य भएको परीक्षणमा उहाँले विपद् व्यवस्थापनमा ड्रोन प्रविधि अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । ‘सडक अवरुद्ध हुँदा, डुबान वा पहिरोका कारण राहत सामग्री पु¥याउन नसकिने अवस्थामा ड्रोन प्रभावकारी विकल्प हुन सक्छ’, मुख्यमन्त्री लामाले भन्नुभयो, ‘भौगोलिक विविधता र जोखिमयुक्त क्षेत्रलाई ध्यानमा राख्दै प्रदेश सरकारले ड्रोनसम्बन्धी आवश्यक कानून निर्माण गर्ने छ । नेपालजस्तो जोखिमपूर्ण भूगोल भएको देशमा आफ्नै प्रविधिको विकास अपरिहार्य रहेको छ ।’
कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले नेपाल प्रविधिसँगै अद्यावधिक हुँदै गएको बताउनुभयो । विपद् व्यवस्थापन, यातायात र सुशासनमा प्रविधिको प्रयोग अपरिहार्य रहेको उहाँले बताउनुभयो । डोजरमुखी विकासले प्राकृतिक प्रकोप निम्त्याएको भन्दै उहाँले प्रकृतिमैत्री प्रविधिको आवश्यकता रहेको बताउनुभयो । आइडिया हब इन्टरनेशनलका प्रतिनिधि सुरज पौडेलले ड्रोन केवल तस्बिर वा भिडियो खिच्न नभई विषादी छर्न र अत्यावश्यक सामग्री ढुवानी गर्न समेत प्रयोग गर्न सकिने बताउनुभयो । उहाँले प्रविधिको तीव्र विकासका कारण पुराना नियम तथा कानुनहरू संशोधन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।











