हेटौंडाः संघीय सरकारका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोख्रेल र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबीच भेटवार्ता भएको छ । उहाँहरुबीच हाल तीव्र रुपमा फैलिएको कोरोना भाईरसको सङ्क्रमण रोकथामका लागि संघीय सरकार र प्रदेश सरकारको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
दिनानुदिन रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि कोभिड संकट व्यवस्थापन समितिका संयोजक समेत रहनु भएका रक्षामन्त्री पोख्रेलले समितिको बैठकपछि मुख्यमन्त्री पौडेलसँग छलफल गर्नुभएको हो । काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणले थप संकट ल्याउन सक्ने भन्दै त्यसतर्फ कसरी सचेत गराउने भन्ने विषयमा छलफल केन्द्रित भएको मुख्यमन्त्रीका स्वकीय सचीव अनुप पौडेलले जानकारी दिनुभयो ।
अत्यावश्यक सवारी साधन भन्दा अन्य सवारी आवागमनलाई प्रदेशका नाकाहरुमा कडाई गर्ने, स्थानीय तह तथा जिल्लाहरूमा समस्या देखिए स्थानीय तह स्वयम् वा जिल्ला प्रशासन कार्यालयबाट नै ठोस कदम चाल्न सहजीकरण गर्ने विषयमा उहाँहरुबीच छलफल भएको स्वकीय सचीव पौडेलले जानकारी दिनुभएको छ ।