हेटौँडा : धादिङ जिल्लामा छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका–६, बेलखुमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजेर १५ मिनेटको समयमा पृथ्वी लोकमार्गमा काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा ७० प ३२९७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा प्र ३–०२–३७ प ७६९२ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा ३२९७ नम्बरको मोटरसाइकलका चालक तनहुँ जिल्लाको बसन्तपुर–३ का ५७ वर्षीय रामचन्द्र रानाभाट, ७६९२ नम्बरको मोटरसाइकलका चालक नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ का २५ वर्षीय अमित कुमार बलामी र पछाडी सवार शिवपुरीका ३५ वर्षीया राममाया तामाङ घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारका लागि आदमघाट अस्पताल लगिएको थियो । रामचन्द्रलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रिफर गरिएकोमा उपचारको क्रममा दिउँसो ३ बजेर ५३ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अमितकुमार र राममाया सामान्य उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

यस्तै धादिङको गजुरी गाउँपालिका–२, फुर्केखोलामा बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ । आइतबार साँझ ६ बजेको समयमा पृथ्वी लोकमार्गमा धादिङवेशीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ७५१ नम्बरको बस ब्याक गर्ने क्रममा सोही बसका सहचालकलाई बसले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । बसको ठक्करबाट धादिङको निलकण्ठ नगरपालिका–२ का १८ वर्षीय समर्पण रिजाल गम्भीर घाइते भएका थिए । घाइते समर्पणको टिचिङ अस्पताल मलेखुमा सामान्य उपचार पश्चात थप उपचारका लागि ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा सोमबार बिहान ६ बजेर ५० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।