शनिबार पूर्व–पश्चिम राजमार्गको चितवनमा भएको सवारी दुर्घटनाले फेरि एक पटक झस्काएको छ । चितवनको राप्ती नगरपालिकाको डडुवामा यात्रुबाहक बस र विद्युतीय भ्यान एक–आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । हेटौँडाबाट नारायणगढ जाँदै गरेको इभी भ्यान र धनगढीबाट काँकडभिट्टा जाँदै गरेको बस ठोक्किँदा इभी भ्यानमा पूर्ण क्षति भएको थियो । दुर्घटनामा मृत्यु हुने सबै इभीमा सवार यात्रु थिए । दुर्घटनामा ज्यान गुमाउनेमा ५ जना हेटौंडाका छन् । दोस्रो सन्तान जन्माउन भरतपुर अस्पताल जाँदै गरेकी हेटौँडा–५ की २७ वर्षीया रेनुका कँडेल पहाडी, श्रीमान ३५ वर्षीय सरोज र सासुआमा ५५ वर्षीया मैयाकुमारीले ज्यान गुमाएका छन् । दुर्घटनामा हेटौँडा–४ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र माइक्रोबस चालक हेटौँडा–१० का ३१ वर्षीय राजु थिङ छन् ।

मकवानपुर जिल्लामा सवारी दुर्घटना धेरै हुने गरेको छ । मकवानपुरमा ४ वटा राष्ट्रिय राजमार्ग छन् । काठमाडौं जाने छोटो दुरीका थुप्रै वैकल्पिक सडक पनि भएकाले दिनहुँजस्तै सवारी दुर्घटना हुने गरेका छन् । सवारी चापको तुलनामा सडक फराकिलो र स्तरीय हुन नसक्दा दुर्घटनाको जोखिम बढिरहेको छ । पूर्वपश्चिम राजमार्गमा सबैभन्दा बढी सवारी चाप पथलैया–नारायणगढ खण्डमा हुने र उक्त खण्डको ५० किलोमिटरभन्दा बढी दुरी मकवानपुरमा पर्ने भएकाले सवारी दुर्घटना हुने गरेका छन् । पछिल्लो समय कान्तिलोकपथ र मदन भण्डारी लोकमार्गमा पनि सवारी चाप बढ्दै गएकाले दुर्घटनाको जोखिम बढ्दै गएको छ । हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाडौं जाने सडकहरुमा दिनहुँ सामान्य दुर्घटना भइरहेकै हुन्छन् । उक्त सडकखण्डमा साना सवारी साधनको चाप अत्यधिक रहेको र विद्युतीय गाडीको संख्या बढेकाले दुर्घटना जोखिम पनि बढिरहेको छ ।

पछिल्लो समय साना यात्रुवाहक विद्युतीय सवारी साधनको संख्या तिब्ररुपमा बढिरहेका त्यस्ता सवारी धेरै दुर्घटना हुन थालेपछि कतिपयले चिन्ता व्यक्त गर्न थालेका छन् । विद्युतीय गाडीमा दुर्घटनाको सम्भावना बढी हुने गरेको भनाइहरु सामाजिक सञ्जालमा व्यापक बनिरहेको छ । विद्युतीय गाडी तुलनात्मकरुपमा हलुका हुने र तिब्र गतिमा सवारी चलाउने भएका कारण दुर्घटनाको जोखिम बढेको निश्चित हो । सडकको दुरावस्था, नियमित मर्मत र चेकजाँच नभएका पुराना सवारी, तिब्र गति र ट्राफिक नियमको बेवास्ता नै सवारी दुर्घटनाको मुख्य कारण हुन् । दुर्घटनाको प्रमुख कारण मानिएको मानवीय त्रुटी कम गर्न राज्य र सम्बद्ध सबै पक्ष लाग्नुपर्छ । चालकलाई सचेत बनाउन बेला–बेलामा प्रशिक्षण दिने, ठाउँ–ठाउँमा जाँच गर्ने, नियमविपरीत काम गर्नेलाई कारवाही गर्ने, दूरीअनुसारको यात्राका लागि समय तोक्ने, ठाउँ–ठाउँमा रिफ्रेस सेन्टर सञ्चालन गर्नेलगायतका काम आवश्यक छ ।

शनिबार चितवनमा भएको दुर्घटना विपरित दिशाबाट आएका सवारी आपसमा ठोक्किएर दुर्घटना भएको हो । उक्त दुर्घटनाको प्रकृति हेर्दा तिब्र गतिकै कारण ठूलो क्षति भएका मान्न सकिन्छ । दिनहुँ हुने सवारी दुर्घटनामा यात्रुको ज्यान गइरहेको हुन्छ, जसमा राज्य र सरोकारवालाको चासो कम रहेको देखिन्छ । धेरैको ज्यान जाने दुर्घटनाप्रति क्षणिक चिन्ता व्यक्त गरिए पनि मानवीय क्षति कम भएका अधिकांश दुर्घटनामा खासै ध्यान दिइन्न । कस्ता सवारी साधन कसरी र कुन ठाउँ दुर्घटना भयो भन्ने कुराले मानवीय क्षतिको निर्धारण गर्ने भए पनि आखिर दुर्घटना दुर्घटना नै हो । सडकमा हुने साना–ठूला सबै प्रकारका दुर्घटनालाई गम्भीररुपमा लिएर यसको न्यूनीकरणमा ध्यान दिनु जरुरी छ । सडकमा लापरबाही गर्नेलाई रोक्ने निकायको भरपर्दो उपस्थिति नहुनुले दुर्घटना बढाएको तथ्य नकार्न सकिँदैन ।