नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारीका क्रममा खिचिएको तस्वीर ।

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित ८३ करोड ७२ लाख ६७ हजार ७४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । शनिबार भएको गाउँपालिकाको दोस्रो गाउँसभाको सातौँ अधिवेशनमा अध्यक्ष सर्केस घलानले नीति तथा कार्यक्रम र उपाध्यक्ष फणिन्द्रकुमार तिमल्सिनाले चालू आवको भन्दा १२ करोडले बढी बजेट प्रस्तुत गर्नुभयो । गाउँपालिकाले चालू आवका लागि ७१ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

आर्थिक वर्ष २०८२/८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ९ करोड ८ लाख २५ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट २२ करोड ५९ लाख, ३१ हजार ६७४ रुपैयाँ, प्रदेश सरकारबाट ५ करोड ९९ लाख ११ हजार रुपैयाँ र संघीय सरकारबाट ४६ करोड ६ लाख रुपैयाँ व्यहोरिने उल्लेख गरिएको छ । गाउँसभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष तिमल्सिनाले आगामी आर्थिक वर्षमा सामाजिक विकास क्षेत्रमा कुल बजेटको आधा बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले सामाजिक क्षेत्रका विभिन्न कार्यक्रमका लागि सबैभन्दा बढी ४२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो । यस्तै, पूर्वाधार विकासका लागि १७ करोड, कार्यालय सञ्चालन तथा प्रशासनिकका लागि १२ करोड २६ लाख, वातावरण तथा विपत् व्यवस्थापनका लागि १ करोड १६ लाख, आर्थिक विकासका लागि ५ करोड ४३ लाख र सुशासन तथा संस्थागत विकासका लागि ४ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

उपाध्यक्ष तिमल्सिनाले गाउँपालिकाको महत्वपूर्ण खानेपानी आयोजनाको रूपमा रहेको गुन्द्रुकखोला खानेपानी आयोजनाका लागि संघीय विशेष अनुदानतर्फ २ करोड २० लाख, आठौँ बागमती राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको लागि ५० लाख बजेट प्रस्ताव गर्नुभएको छ । यसैगरी, राईगाउँ क्यान्टिन सडक र कुटी भकारी गुर्दुम सडकका लागि प्रदेश समपूरक अनुदानअन्तर्गत ३ करोड ८५ लाख बजेट प्रस्ताव गरिएको छ भने स्थानीय ग्रामीण सडक तथा झोलुंगे पुल कार्यक्रमअन्तर्गत गाउँपालिकाको महत्वपूर्ण सडक योजना, स्थानीय ग्रामीण सडक तथा झोलुंगे पुल निर्माणसमेतका आयोजनाहरूका लागि ४ करोड ५८ लाख ५० हजार बजेट प्रस्ताव गरिएको छ ।

गाउँपालिकाको स्थानीय स्रोतसाधनको प्रयोग गरी आन्तरिक आयमा बढोत्तरी गर्नका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा आफैँले क्रसर उद्योग स्थापना गर्ने तयारी गरेको उपाध्यक्ष तिमल्सिनाले बताउनुभयो । क्रसर उद्योग स्थापनाका लागि ५ करोड ७५ लाख बजेट प्रस्ताव गरिएको सभामा उपाध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो ।

गाउँसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष सर्केस घलानले ८ नम्बर वडामा रहेको जनता माविलाई बहुमुखी क्याम्पसका रूपमा सञ्चालन गर्ने योजना अघि सार्नुभएको छ । यस्तै, प्रत्येक वडा कार्यालयबाट सामाजिक सुरक्षाभत्ता वितरण गर्ने र एकल पुरुषलाई समेत सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने नीति लिएको अध्यक्ष घलानले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका स्थायीबासी जनप्रतिनिधि र सरकारी कर्मचारीहरूले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने नीति पनि पालिकाले ल्याएको छ । यदि भर्ना नगरेमा तलब र सेवा सुविधाबाट १० प्रतिशत शैक्षिक कर तिर्नुपर्ने उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गर्नुभएको छ ।