Home मुख्य समाचार प्रदेश विश्वविद्यालयको वार्षिकोत्सव सम्पन्न

प्रदेश विश्वविद्यालयको वार्षिकोत्सव सम्पन्न

प्रदेश विश्वविद्यालयको वार्षिकोत्सवका क्रममा खिचिएको तस्वीर ।

हेटौँडा : बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा सामाजिक विकास मन्त्रालयको सभाकक्षमा वार्षिकोत्सव समारोह भएको हो । वार्षिकोत्सव समारोहमा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठको पनि आतिथ्य रहेको थियो ।

वार्षिकोत्सव समारोहमा विश्वविद्यालयको वार्षिक कार्य प्रगति विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले प्रस्तुत गर्नुभएको थियो । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले विश्वविद्यालयले व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिँदै अगाडि बढ्ने र प्रदेश गौरवको आयोजनाको रुपमा रहेको विश्वविद्यालयलाई आवश्यक बजेट व्यवस्था गर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयले अगाडि सारेका कार्यहरु सहयोग गर्ने र आंगिक क्याम्पस बनाउने बारे छिट्टै निर्णय लिइने बताउनुभयो । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले उच्च शिक्षा प्रदेश सरकारको एकल अधिकारको क्षेत्र भएको बताउनुभयो ।

बागमती प्रदेशका प्रमुख सचिव भुपाल बरालले विश्वविद्यालयले अनुसन्धानमा जोड दिने र विद्यार्थी बाहिर जानुपर्ने अवस्थामा कमि ल्याउने गरी काम गर्नुपर्ने बताउनुभयो । प्रदेश नीति तथा योजना आयोगका सदस्य गुणराज मुक्तान, बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले विश्वविद्यालय र उच्च शिक्षाका विविध पक्षमा विचार राख्दै बागमती विश्वविद्यालयसँग सहकार्य र सहयोग गर्दै अगाडि बढ्ने बताउनु भयो । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले विश्वविद्यालयलाई आवश्यक सहयोग गर्न र जग्गा उपलव्ध गर्न उपमहानगर प्रतिबद्घ रहेको बताउनुभयो । विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विश्वविद्यालयका भए गरेका कार्य र यसका अप्ठ्यारा र चुनौती बारे प्रस्ट पार्नुभयो ।

Exit mobile version