संघीय राजधानी काठमाडौं र बागमती प्रदेश राजधानी हेटौंडाको भौगोलिक दुरी धेरै छैन । कुनैबेला मानिसहरु हिँडेरै एकै दिनमा हेटौंडा–काठमाडौं गर्ने गरेको भए पनि अहिले हेटौंडा–काठमाडौं जोड्ने थुप्रै सडक सञ्चालनमा छन् । तीनवटा राष्ट्रिय राजमार्गबाहेक दर्जनौं वैकल्पिक मार्गबाट हेटौंडा–काठमाडौं आवतजावत गर्न सकिन्छ । हेटौंडा प्रदेश राजधानी भएपछि प्रदेश सरकारले वैकल्पिक मार्गहरुको स्तरोन्नतिका लागि ध्यान दिएको भए पनि अझै ती मार्गहरु भरपर्दो र स्तरीय बन्न सकेका छैनन् । विशेषगरी वर्षाको समयमा वैकल्पिक सडकहरु अवरुद्ध भई यातायात सञ्चालनमा अवरोध हुने गरेका छन् । कुनै पनि बैकल्पिक मार्ग पूर्णरुपमा पक्की बन्न सकेका छैनन् ।
हेटौंडा–काठमाडौंबिच ठूला बस तथा ट्रकहरु नारायणगढ, मुगलिन हुँदै पृथ्वी राजमार्गबाट आवतजावत गर्ने गर्दछन् । देशकै पहिलो राजमार्गको रुपमा रहेको त्रिभुवन राजपथ (बाइरोड) बाट सार्वजनिक यातायातका साधन खासै चल्ने गरेका छैनन् । विसं २०१६ सालमै यातायात सञ्चालन भएको भनिएको कान्ति लोकपथबाट पनि थोरै संख्यामा यात्रुबाहक साना सवारी र काठमाडौंबाट फर्किने खाली ट्रकहरु सञ्चालन हुने गरेका छन् । हेटौंडा–काठमाडौं यात्रा गर्ने अधिकांश यात्रु, सरकारी तथा निजी साना सवारी साधन भने भीमफेदी– कुलेखानी हुँदै विभिन्न वैकल्पिक मार्गबाट आवतजावत गर्ने गर्दछन् । हेटौंडाबाट भैंसे, भीमफेदी हुँदै कुलेखानी पुगेपछि काठमाडौं जाने ४ वटा वैकल्पिक बाटो छन् । सिस्नेरी–दक्षिणकाली, फाखेल–फर्पिङ, चखेल–मातातीर्थ र चित्लाङ–थानकोट सबै सडक वर्षौंदेखि संघ र प्रदेश सरकारले बजेट दिएर स्तरोन्नति गराइरहेको भए पनि पूरा हुन सकेको छैन ।
सरकारले उच्च प्राथमिकता दिएर चौडा तथा स्तरोन्नति गरिरहेका ती बैकल्पिक सडकसँगै कान्ति लोकपथमा यातायात सञ्चालन अझै सहज बन्न सकिरहेको छैन । स्तरोन्नति पूरा हुन नपाउँदै गत असोज १२ गतेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले धेरै क्षति पुर्याएको छ । अहिले पनि ती सबै सडक स्तरोन्नति र पुनःनिर्माणको काम भइरहेको भए पनि पूरा भएको छैन । यस वर्षको मनसुन सक्रिय भइसकेको अवस्थामा वैकल्पिक सडक मार्गहरु उचित व्यवस्थापन गर्न ढिला गर्नु हुँदैन । बाढीले कान्ति लोकपथस्थित बागमती पुलको पहुँचमार्ग बगाएपछि डाइभर्सजन तथा अस्थायी पहुँचमार्ग बनाएर यातायात सञ्चालनमा ल्याइएको भए पनि बारम्बार बाढीले डाइभर्सन बगाएपछि अहिले बगाएको पहुँचमार्गमा बेलिब्रिज जडान गरी यातायात सुचारु गराइएको छ । ४ दिन यातायात बन्द गरेर बेलिब्रिज जडान गरी यातायात सञ्चालनमा ल्याइएको भए पनि उक्त लोकपथको धेरै ठाउँमा स्तरोन्नतिको काम चलिरहेकोले वर्षामा अवरुद्ध हुने सम्भावना देखिन्छ ।
गत असोजकै बाढीले क्षति पुर्याएको कुलेखानी–सिस्नेर र कुलेखानी–फाखेल सडकखण्डको पुनःनिर्माण भइरहेको छ । बाढीले बगाएको सडकको पुनःनिर्माणको काम सकिन लागेको भए पनि कुलेखानी ड्याममुनिको पुलको पहुँचमार्ग पुनःनिर्माण हुन सकेको छैन । अहिले डाइभर्सन बनाएर यातायात सञ्चालन भइरहेको उक्त ठाउँमा पनि बेल्रिब्रिज जडान गर्ने भनिए पनि काम भएको छैन । वर्षाको समयमा कान्ति लोकपथलगायत सबै बैकल्पिक सडकमा बाढी तथा पहिरोले क्षति पुर्याउन सक्ने भएकाले सरकारले उचित व्यवस्थापन गर्नु आवश्यक छ । मनसुनजन्य विपदले देशका जताततै सडक सञ्जाल क्षतविक्षत पार्ने गरेको अवस्थामा संघीय राजधानी र प्रदेश राजधानी जोड्ने बैकल्पिक मार्गहरु क्षति हुन नदिन र शिघ्र मर्मत गरी यातायात सुचारु बनाउने प्रभावकारी व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्छ ।











