हेटौँडा उपमहानगरपालिका ।

हेटौंडा: हेटौंडा उपमहानगरपालिकाले आन्तरिक आयका लागि ठेक्का लगाउन न्यूनतम रकम वृद्धि नगर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विभिन्न शीर्षकमा ठेक्का आह्वान गर्नका लागि चालु आर्थिक वर्ष २०८१/०८२ का लागि निर्धारण गरिएको न्यूनतम अंकलाई नै स्वीकृति प्रदान गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाको गत मंगलबार बसेको ६५ औं कार्यपालिका बैठकले ५ वटा शीर्षकमा आय ठेक्का लगाउन न्यूनतम अंक कायम गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा निर्धारण गरिएको न्यूनतम अंकको झण्डै ७ गुणा बढीसम्म ठेक्का लागेको भए पनि उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि न्यूनतम अंक नबढाउने निर्णय गरेको हो ।

उपमहानगरपालिकाको राजस्व परामर्श समितिबाट निर्णय भई आएको न्यूनतम अंकलाई नै कार्यपालिकाले स्वीकृति प्रदान गरेको छ । उपमहानगरले चालु आर्थिक वर्षका लागि न्यूनतम अंक ७ लाख १५ हजार रुपैयाँ तोकेको पशु हाट सेवा शुल्क संकलनका लागि ४८ लाख ८४ हजार रुपैयाँमा ठेक्का लागेको थियो ।

न्यूनतम ६० लाख रुपैयाँ निर्धारण गरेर कवाडी सामग्री निकासी शुल्क संकलनका लागि एक करोड ३४ लाख ६० हजारमा ठेक्का लगाएको उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पनि न्यूनतम ६० लाख रुपैयाँमा नै ठेक्का आह्वान गर्ने भएको छ । चालु आर्थिक वर्षमा न्यूनतम २७ लाख रुपैयाँको विज्ञापन कर संकलन ठेक्का ३५ लाख ९० हजारमा स्वीकृत भएको थियो । यस्तै, ३ करोड ९२ लाख रुपैयाँको सडक पूर्वाधार मर्मत संभार शुल्क संकलनमा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि ४ करोड ७५ लाख रुपैयाँमा ठेक्का स्वीकृत गरेको थियो ।

५ वटा शीर्षकमा आन्तरिक आय ठेक्काको न्यूनतम अंक ४ करोड १९ लाख निर्धारण गरिएकोमा उपमहानगरले ७ करोड १९ लाखमा ठेक्का स्वीकृत गरेको थियो । स्वीकृत न्यूनतम अंकभन्दा ३ करोड रुपैयाँ बढीमा ठेक्का स्वीकृति गरेको उपमहानगपालिकाले आगामी आर्थिक वर्षका लागि पनि चालु आर्थिक वर्षकै न्यूनतम अंकमा ठेक्का लगाउने निर्णय गरेको हो ।

कार्यपालिका बैठकले उपमहानगरपालिकाको नगरसभाको १७ औं अधिवेशन आगामी असार १० गतेका लागि आह्वान गर्ने निर्णय गरेको छ । नगरसभा विहान ७ बजे उपमहानगरपालिकाको सभाहलमा बस्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुतीका लागि उपमहानगरपालिकाले नगरसभाको मिति तोकेको हो । बैठकले विभिन्न निर्देशिका र कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०८२ स्वीकृत भएको छ । यस्तै, मेला, महोत्सव, प्रदर्शनी सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२, रोजगार संवाद मञ्च सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२ र सञ्चित कोषको आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारले स्तरोन्नति गर्न लागेको पूर्व–पश्चिम राजमार्गको पथलैया–हेटौँडा–भरतपुर खण्डको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीका लागि सुझावसहितको सिफारिस उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकले गरेको छ । सडक विस्तार आयोजना निर्देशनालयले गत जेठ ४ गते उपमहानगरलाई वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी तथा प्रस्ताव कार्यान्वयनका लागि राय सुझाव माग गर्दै पत्र पठाएकाले सुझावसहितको सिफारिस उपलब्ध गराउने निर्णय भएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

कार्यपालिका बैठकले हेटौँडा–१७ स्थित बालबोध माध्यमिक विद्यालयमा मेगा किचन स्थापना र सञ्चालनका लागि ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । संघीय सरकारको सशर्त कार्यक्रम अन्तर्गत विद्यालय दिवा खाजा व्यवस्थापनका लागि मेगा किचन स्थापना गर्न प्राप्त रकम बालबोध माविलाई दिने निर्णय गरिएको हो । बैठकले बालबोध माविको व्यवस्थापन समिति अध्यक्षको संयोजकत्वमा छिमेकी विद्यालयहरुका व्यवस्थापन समिति अध्यक्ष सदस्य रहने गरी मेगा किचन व्यवस्थापन समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न अनुमति दिइएकाले आवश्यक अनुगमन र परीक्षण गरी प्रमाणीकरणका लागि जिल्ला खोप समन्वय समितिलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । बैठकले हेटौँडा–९ स्थित कुख्रेनी सामुदायिक वनको खाली जमिनमा घर टहरा बनाएर सञ्चालनमा रहेको मानवसेवा आश्रमलाई उक्त जमिनको भोगाधिकार दिन सिफारिस गर्ने निर्णय गरेको छ । मानवता प्रवद्र्धन महाअभियान सञ्चालन गरिरहेको आश्रमलाई जग्गा उपलब्ध गराउन वडा कार्यालयको सिफारिस र सम्बन्धित वन उपभोक्ता समूहको सहमति प्राप्त भएकाले निःशुल्क लिजमा जग्गा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरिएको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

बैठकले हेटौंडा–७ को कित्ता नम्बर ५२७ को जग्गा वडा कार्यालयको नाममा भोगाधिकार प्राप्त गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले गत जेठ २ गते पत्र पठाएर उक्त जग्गाबारे चासो देखाएकाले जग्गाको थप एकिन गर्न उपमहानगरपालिकाको प्राविधिक खटाएर प्रतिवेदन माग गर्ने निर्णय बैठकले गरेको हो । हेटौंडा–१९ को व्यावसायिक क्षेत्रमा रहेको दुई कित्ता जग्गालाई आवासीय क्षेत्रमा कायम गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा उपमहानगरपालिकाको गत जेठ १२ गतेसम्मको आय–व्ययको अवस्थाबारे जानकारी दिइएको थियो । उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक स्रोत गरी एक करोड ९० लाख ६१ हजार रुपैयाँ आम्दानी गरेको छ । सो अवधिसम्म उपमहानगरपालिकाले एक करोड ४१ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ । लक्ष्यको ६७ प्रतिशत आम्दानी गरेको उपमहानगरपालिकाले जेठ १२ गतेसम्म लक्ष्यको ५० प्रतिशत पनि खर्च गर्न सकेको छैन ।