हेटौंडाः आर्थिक वर्ष २०७६\०७७ मा मकवानपुर जिल्लाका १४५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने तीन बालबालिका समेत रहेका छन् । आत्महत्या गर्नेमा ८२ जना पुरुष र ६३ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

विष सेवन गरेर १ बालकले आत्महत्या गरेको छ भने झुण्डिएर २ जना बालिकाले आत्महत्या गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७५\०७६ मा आत्महत्या गर्नेको संख्या १५९ रहेको थियो । अघिल्लो आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा गत वर्ष आत्महत्या गर्नेको संख्यामा कम छ । कोभिड–१९ को महामारी नियन्त्रणका लागि गरिएको लकडाउनको अवधिमा मात्रै मकवानपुरमा ४४ जनाले आत्महत्या गरेका छन् । उनिहरु मध्ये अधिकांश युवा उमेरको रहेको प्रहरीले जनाएको छ । पारिवारिक झमेला, व्यक्तित्व विकास गर्न नसक्नु, आर्थिक अवस्था दयनीय हुनु, मानसिक तनाव बढी हुनु, बालबालिकाको हितमा घरपरिवारले समय दिन नसक्नु नै आत्महत्याका प्रमुख कारण देखिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर रानाले बताउनुभयो ।