नेपालमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । स्थानीय तहमा रहेर काम गर्ने स्वास्थ्यकर्मीदेखि जनप्रतिनिधिहरु समुदायमा भाइरस फैलिएको भन्दै त्रसित भएका छन् । तर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नेपालमा अझै समुदायस्तरमा कोरोना भाइरसको संक्रमण नपुगेको सरकारी दावी छ । करिव चार महिनाको लकडाउन खुलेपछिको संक्रमणको दर बढेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले नै पुष्टि गरेको छ । लकडाउनको अवधिमा सरकारले कोरोना परीक्षणलाई तिव्रता दिएको थियो । तर लकडाउन खुले पनि परीक्षण कम गरेको छ भने संक्रमणको संख्या पनि कम देखिएको छ । तर प्रतिशतको दृष्टिकोणबाट नेपालमा कोरोनाले थप जटिल अवस्था ल्याउने विज्ञहरुकै भनाइ छ । त्यसैले आफ्नो सुरक्षा व्यक्ति स्वयम्को जिम्मेवारी बनेको छ ।

विश्वव्यापी महामारीको चर्को दवाव परिरहेको समयमा भलबाढीले पनि नेपाली समाज आक्रान्त छ । दुर्गम गाउँ–बस्तीहरु पहिरोको चपेटामा परिरहेका छन् भने तराई क्षेत्र डुवानमा छ । विपतको समयमा सबै नागरिकहरु उद्दारमा जुट्नु पर्ने हो । तर कोभिडको डर एकातर्फ छ भने अर्कोतर्फ मानवीय समवेदना । सामाजिक रुपमा घुलमिल हुनुपर्ने वर्ग नै कोभिडको उच्च जोखिममा देखिएको छ । विशेषगरी सुरक्षा र स्वास्थ्यकर्मीहरु संक्रमित हुँदै गएका छन् । यस्तै भिआईपीदेखि कर्मचारी पनि संक्रमित हुन थालेपछि सामाजिक जनजीवन समेत जोखिममा परेको अवस्था छ । कोभिडदेखि प्राकृतिक विपत्तीमा उद्दार र उपचारमा खट्नु पर्ने वर्ग नै क्वारेन्टिनमा बस्नु पर्ने अवस्थाले नेपाली स्वास्थ्य क्षेत्र थप जटिल मोडमा पुगेको आँकलन गर्न सकिन्छ ।

दिन–प्रतिदिन संक्रमित बढ्नुको कारण पत्ता लगाई त्यहीँबाट उपचार खोजिनु आजको आवश्यकता हो । लकडाउन खुलेपछि कोभिडबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । सुरुमा बिना लक्षण कोरोना पोजेटिभ देखिन्थ्यो भने अहिले कोरानाको लक्षणसहितका विमारीहरु भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सुरुमै नियन्त्रणमा लिन राज्य संयन्त्रदेखि नागरिक स्वयम् कहाँ चुक्यौं भन्ने कुराको समिक्षा हुनु पर्दछ । तब मात्र भविष्यको योजना बनाउन सहज हुने छ । प्रारम्भिक चरणमा आवश्यक पूर्वाधारदेखि अन्य बन्दोवस्तीतर्फ ध्यान नपुग्दा स्थिति जटिलतातर्फ उन्मुख बन्दै गएको यथार्थलाई आत्मसात गरी सम्बन्धित निकायबाट गम्भीर निर्णय गर्न सक्नु पर्दछ । यदि अहिलेकै स्थितिमा केही दिन बस्ने हो भने परिस्थिति नियन्त्रण बाहिर पनि जान सक्ने खतरा देखिएको छ ।

विश्वमा महामारी बढ्दै गर्दा नेपाली समाजलाई तयारी तथा होशियारीका लागि पर्याप्त समय थियो । तर नेपालीले कोरोना सहजै पचाउन सक्ने अप्रमाणित तथा अवैज्ञानिक तथ्यका पछि लागेर सरकारले पूर्वतयारी गर्न आवश्यकता नै सम्झेन । गरिएको तयारी पनि कमजोर मात्र हैन कि दुरासययुक्त भएको आरोप सरकारले खेप्दै आएको छ । सरकारको भनाइ मान्दै नागरिक पनि कोरोनाले छुँदैन भन्नेमा ढुक्क देखिए । जसले गर्दा लकडाउन खुलेपछि मुलुक कोरोनामुक्त भएको झैं सामाजिक वरव्यवहार हुन थालेका छन् । त्यसैले संक्रमण र मानिसको मृत्यु संख्या बढेको छ । लकडाउन मात्र सकिएको हो तर कोरोना बाँकी छ र आफू बाहेक सबै व्यक्ति संक्रमित छन् भन्ने आशयबाट व्यवहार नगर्दासम्म नेपाली समाज र जनजीवन थप संकटमा पर्ने निश्चित नै छ ।