हेटौँडा ः बागमती प्रदेश सभाको सोमबारको बैठकबाट २ वटा महत्वपूर्ण विधेयकहरु सर्वसम्मत पारित गरेको छ । प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाको सोमबार दिउँसो बसेको बैठकबाट ‘प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६’ तथा ‘प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६’ लाई संशोधन गर्न बनेका विधेयकहरु सर्वसम्मत रूपमा पारित भएको हो ।
प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले दुवै विधेयकहरु सभामा निर्णयार्थ प्रस्तुत गर्नुहुँदा बैठकले सर्वसम्मत रूपमा विधेयकहरु पारित गरेको हो । यसअघि प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले ती विधेयकका प्रतिवेदन माथि दफावार छलफलका लागि प्रदेशसभा बैठकमा पेश गर्नुभएको थियो । बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल भएको थियो । ती दुबै विधेकहरुमाथिको छलफलमा प्रदेश सभा सदस्यहरुले भाग लिएका थिए ।
छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै मन्त्री तामाङले संशोधनले प्रदेशभित्र सञ्चालनमा रहेका उद्योग र व्यवसायहरूलाई सशक्त रूपमा अगाडि बढाउन मद्दत पुग्ने दावी गर्नुभयो । ती विधेयकमार्फत प्रदेशमा देखिएका केहि कानुनी जटिलता समाधान भई उद्योगी व्यवसायीका लागि सहज वातावरण सिर्जना हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । छलफलपछि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले विधेयक पारित गर्न प्रदेश सभा बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो ।











