हेटौँडा : नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल मकवानपुरले २९औँ स्थापना दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । आइतबार हेटौँडास्थित जिफन्ट प्रदेश कार्यालयको भवनमा एक समारोहका बीच क्युपेक नेपालका सदस्य मजदुरका बालबालिकाहरु १ कक्षादेखि ९ कक्षासम्म प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने २० जना जेहेन्दार विद्यार्थीलाई पुरस्कारस्वरुप शैक्षिक सामग्री वितरण गरिएको हो । जसमध्ये दुई जना अपाङ्गता भएका विद्यार्थीहरू पनि समावेश थिए ।
जिफन्ट बागमती प्रदेश समितिका उपाध्यक्ष अर्जुन अर्यालको प्रमुख आतिथ्य तथा क्युपेक नेपाल मकवानपुरका अध्यक्ष बुद्ध विश्वकर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट बागमती प्रदेश सह–सचिव गोपाल कार्की, क्युपेक नेपालका पूर्व केन्द्रीय सदस्य बिक्रम सिं स्याङ्तान, पूर्व केन्द्रीय युवा अध्यक्ष रेखा भुजेल, क्युपेक नेपाल मकवानपुरका पूर्व अध्यक्षहरू इन्द्र कार्की, ललित राई, देवी दहाल, प्रतिनिधि परिषद् प्रमुख प्रल्हाद राई, जिफन्ट हेटौँडा पालिका अध्यक्ष सुरेश लिम्बू र समग्र जिल्ला सह–सचिव विश्वराज बजगाईलगायतको उपस्थिति रहेको थियो ।











