प्रकृति संवाद यात्रामा सहभागी विद्यार्थी ।

हेटौँडा : टोल विकास संस्था नगर समन्वय समिति हेटौँडाको आयोजनामा प्रकृति संवाद यात्रा सम्पन्न भएको छ । विश्व वातावरण दिवसको सन्दर्भमा आइतबार हेटौँडा–१० स्थित वन विज्ञान क्याम्पस परिसरमा वन क्षेत्र, बगैंचा, नर्सरी तथा जैविक विविधता स्थलहरूको अवलोकन गरिएको थियो । संवाद यात्रामा विद्यालय तहका विद्यार्थीको सहभागिता रहेको थियो भने विश्वविद्यालय तहमा वन विज्ञान विषय अध्ययनरत विद्यार्थीले वन सम्पदा, वन क्षेत्रको महत्व, संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता र वनविज्ञान क्याम्पस परिसरकै विशेषता र विविधताका विषयमा जानकारी गराइएको थियो ।

टोल विकास संस्था नगर समन्वय समिति हेटौँडाका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा प्रकृति संवाद यात्रा भएको हो । प्रमुख अतिथि वडा अध्यक्ष फुर्वा दोर्जे लामाले वातावरण संरक्षणलाई स्थानीय तहको प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्दै भन्नुभयो, ‘हेटौँडा उपमहानगरपालिकाले वातावरणमैत्री नीति तथा व्यवहारमा जोड दिँदै आएको छ । यस्ता वातावरणमुखी अभियानहरूले वातावरणप्रतिको व्यवहारिक ज्ञान दिन्छ, जुन दीर्घकालीन रूपमा निकै फलदायी हुनेछ ।’

कार्यक्रम अध्यक्ष ध्रुवप्रसाद अधिकारीले बालबालिकाहरूको सक्रिय सहभागिताले भावी पुस्तामा वातावरणप्रतिको चासो र जिम्मेवारीको संकेत दिएको उल्लेख गर्नुहुँदै भन्नुभो, ‘हामी सबैको साझा प्रयासबाट मात्रै स्वच्छ, हरित र दिगो वातावरणको निर्माण सम्भव छ । प्रकृति संवाद यात्रा जस्ता कार्यक्रमले बालबालिकाहरूमा चेतना र जिम्मेवारीको भावना विकास गर्न सहयोग गर्छ ।’