लागूऔषध गाँजासहित पक्राउ परेका अधिकारी र खड्कालाई सार्वजनिक गर्दै प्रहरी ।

हेटौँडा : लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ । शुक्रबार राती साढे १ बजेको समयमा त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३, थानाबजारमा सवारी साधन रोकेर सुरक्षाजाँच गर्ने क्रममा प्रहरीले ८० किलो १२० ग्राम लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको जनाएको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले सुरक्षाजाँच गर्ने क्रममा थाहा नगरपालिकाकै डाडाँबासबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ च ४४११ नम्बरको टाटासुमो गाडीलाई रोकेर सुरक्षाजाँच गर्दा लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले सुमो चालक गोरखा जिल्लाको पालुङटार नगरपालिका–१०, मिरकोट स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१३, कालिमाटी डेरा गरी बस्ने २८ वर्षीय मधुसुदन अधिकारी र सोही सुमोमा सवार सिन्धुली जिल्लाको दुधौली नगरपालिका–८, खोरभञ्ज्याङ स्थायी घर भई हाल काठमाण्डौँको डल्लुमा डेरा गरी बस्ने २५ वर्षीय नवराज खड्का पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा १० दिनको म्याद अनुमती लिई अधिकारी र खड्कालाई हिरासतमै राखी थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।