कुनै पनि शहरको सभ्यताको मापन त्यहाँका पैदलयात्री र साइकल प्रयोगकर्ताहरुले कस्तो अनुभव गर्छन् भन्नेबाट हुन्छ । हाम्रो दुर्भाग्य, काठमाडौं उपत्यका लगायत नेपालका अधिकांश शहरहरु यस मापदण्डमा निकै कमजोर सावित भएका छन् । अव्यवस्थित शहरीकरण, साँघुरा र असुरक्षित फुटपाथ र साइकल लेनको अभावले यहाँका नागरिकहरुलाई कष्टकर यात्रा गर्न बाध्य बनाएको छ । न्यून आय र उच्च बेरोजगारीको समस्या झेलिरहेको हाम्रो जस्तो देशमा भरपर्दो सार्वजनिक यातायातको अभावले निजी सवारी साधनको प्रयोग बढाएको छ, जसले आर्थिक बोझ र वातावरणीय प्रदूषण दुवै थपेको छ । यदि हाम्रा शहरहरु पैदलयात्री र साइकलमैत्री हुन्थे भने नागरिकहरुले सहज, सुरक्षित र किफायती यात्रा गर्न पाउने थिए ।
काठमाडौं उपत्यका, पोखरा, हेटौंडा, धरान जस्ता नेपालका धेरै शहरहरुको मौसम वर्षभरि नै पैदल यात्रा र साइकल यात्राका लागि अनुकूल छ । काठमाडौं पोस्टको एक प्रतिवेदन अनुसार उपत्यकाका अधिकांश गन्तव्यहरु साइकलमा ४० मिनेटभित्र पुग्न सकिन्छ । नारायण गोपाल चोकदेखि सातदोबाटो जस्तो १३ किलोमिटरको दुरी पनि साइकलमा एक घण्टाभन्दा कम समयमा पार गर्न सकिन्छ, जुन सामान्य ट्राफिक अवस्थामा कारको यात्रा समयसँग तुलना गर्न सकिन्छ ।
निजी सवारी साधनको बढ्दो प्रयोगले इन्धन आयातमा वार्षिक अर्बौं रुपैयाँ खर्च भइरहेको छ, जसले नेपालको व्यापार घाटालाई बढाइरहेको छ । यसको विपरित, पैदल र साइकल पूर्वाधार निर्माणमा लाग्ने लागत सडक विस्तारको तुलनामा धेरै कम छ । उदाहरणको लागि हेटौंडा उपमहानगरपालिकाको मापदण्ड अनुसार सडक निर्माण गर्न प्रति वर्गमिटर लगभग १० हजार रुपैयाँ लाग्छ भने ढलान ब्लक सहितको फुटपाथ निर्माण गर्न मात्र ३ हजारदेखि ४ हजार रुपैयाँ खर्च हुन्छ । यो स्पष्ट तथ्याङ्कले पैदलमार्ग निर्माण सडक निर्माणको तुलनामा २.५ देखि ३.३ भाग कम खर्चिलो रहेको स्पष्ट पार्दछ । विश्वभर भएका अध्ययनहरुले पैदल र साइकल पूर्वाधारको आर्थिक लाभलाई पुष्टि गरेका छन् ।
डेनमार्कको राजधानी कोपेनहेगनमा गरिएको अध्ययन अनुसार, साइकल पूर्वाधारमा गरिएको प्रत्येक १ युरो लगानीले ५ युरो भन्दा बढीको आर्थिक प्रतिफल दिन्छ । संयुक्त राज्य अमेरिकाको पोर्टल्याण्ड जस्ता शहरमा साइकल पूर्वाधारमा गरिएको लगानीले सडक विस्तारको तुलनामा धेरै गुणा बढी आर्थिक प्रतिफल दिएको छ । युरोपेली संघमा पैदल र साइकल पूर्वाधारमा गरिएको लगानीले ट्राफिक जाम कम गर्ने र स्वास्थ्य सुधार गर्ने जस्ता धेरै आर्थिक फाइदाहरु पुर्याएको देखाएको छ ।
पैदल र साइकलमैत्री पूर्वाधारले समाज, वातावरण र सडक सुरक्षामा पनि महत्वपूर्ण भूमिका खेल्छ :
– समानता र पहुँच : यसले निम्न आय भएका र सवारी साधन किन्न नसक्ने नागरिकहरुलाई सहज र किफायती यातायातको विकल्प प्रदान गर्छ ।
– स्वास्थ्य सुधार : नियमित पैदल यात्रा र साइकल यात्राले शारीरिक गतिविधि बढाउँछ र नसर्ने रोगहरुको जोखिम कम गर्छ, जसले उपचार खर्च घटाउँछ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, शारीरिक निष्क्रियताका कारण विश्वभर वार्षिक खर्बौं डलर स्वास्थ्य सेवामा खर्च हुन्छ ।
– वातावरण संरक्षण : जीवाश्म इन्धनको प्रयोग घट्दा वायु प्रदूषण कम हुन्छ र शहरहरु स्वच्छ र बस्न योग्य बन्छन् ।
– सडक सुरक्षामा सुधार : सुरक्षित र व्यवस्थित पैदल मार्ग, जेब्रा क्रसिङ र भौतिक रूपमा अलग गरिएका साइकल लेनहरुले सडक दुर्घटनाको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्छन् । अध्ययनहरुले देखाएका छन् कि सुरक्षित साइकल लेनको निर्माणले साइकल दुर्घटनामा ५० प्रतिशतसम्म कमी ल्याउन सक्छ । विकासशील राष्ट्रहरुमा पैदलयात्री र साइकल चालकहरु सडक दुर्घटनाको उच्च जोखिममा हुन्छन् र सुरक्षित पूर्वाधारमा लगानी गर्नु जीवन रक्षा गर्नुका साथै आर्थिक क्षति पनि कम गर्छ ।
नेपालका शहरहरुलाई सभ्य, स्वस्थ, सुरक्षित र दिगो बनाउन पैदल यात्रामैत्री र साइकलमैत्री पूर्वाधार निर्माणमा लगानी गर्नु अपरिहार्य छ । तीनै तहका सरकार र नागरिक समाज सबैले यस दिशामा हातेमालो गरेर अघि बढ्नुपर्छ । भएका पैदल मार्गहरुको स्तरोन्नति गर्ने, नयाँ र सुरक्षित साइकल लेनहरु निर्माण गर्ने र जनचेतना अभिवृद्धि गर्ने जस्ता कार्यहरुलाई प्राथमिकता दिनुपर्छ । दीर्घकालीन सोच र योजनाका साथ अघि बढेमा हामी अवश्य पनि हाम्रा शहरहरुलाई नागरिकमैत्री र वातावरणमैत्री बनाउन सक्छौं । विकासशील राष्ट्रहरुको अनुभवलाई पनि ध्यानमा राखेर कम लागतका तर प्रभावकारी उपायहरु अवलम्बन गर्नुपर्छ ।
