हेटौँडा : विभिन्न घटनामा परी मकवानपुरका २ सहित ६ जनाको मृत्यु भएको छ । हेटौँडा–१९, नेवारपानीस्थित हेटौँडा डेरी उद्योग परिसरको फोहोर डम्फिङ साईडमा प्लास्टिकका भाँडाहरु संकलन गर्ने क्रममा ढलेका चितवन जिल्लाको रत्ननगर नगरपालिका–२, टाँडीका ३५ वर्षीय राजन परियारको मृत्यु भएको छ । बिहीबार अचेत अवस्थामा भेटिएका परियारलाई उपचारका लागि हेटौँडा अस्पतालाई पठाइएको थियो । हेटौँडा अस्पतालमा उपचारको क्रममा साँझ ५ बजेर ४० मिनेटको समयमा परियारलाई मृत घोषित गरेको थियो ।
मकवानपुरकै बकैया गाउँपालिका–३, जलजलेमा लडेर एकजनाको मृत्यु भएको छ । ४७ वर्षीय बरूण लामिछाने हात्तीसुँडे बजारबाट घरतर्फ जाने क्रममा गाई गोठ नजिक गोरेटे बाटोमा आफैं लडेर मृत अवस्थामा रहेको भनी स्थानीयले जानकारी गराएको प्रहरीले उल्लेख गरेको छ । भरतपुर महानगरपालिका–२९, बालेटारमा बिहीबार दिउँसो ४२ वर्षीय राजेन्द्र आचार्य आफ्नै घरको आँगनको भित्तामा अडेस लागी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
चितवन जिल्लाको रत्ननगर नगरपालिका–८, श्रीदेवीटोल एकजना मानिसको मृत्यु भएको छ । पर्सा जिल्लाको पोखरिया नगरपालिका–८ घर भई हाल रत्ननगर–१४, श्रीदेवीटोलमा डेरा गरी बस्ने ५० वर्षीय राप्रसाद सहनी एक्कासी ढलेका थिए । चितवन जिल्लाको भरतपुर महानगरपालिकाका ६८ वर्षीय पदम पाण्डे रत्ननगर–६ स्थित दक्षिणकाली मध्यवर्ती सामुदायिक वनभित्र रहेको घोलमा मृत अवस्थामा भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
सिन्धुली जिल्लाको दुधौली नगरपालिका–२ गागनबाट हत्पतेडाँडा जाने भित्री सडकखण्डमा गागनबाट हत्पतेडाडातर्फ बालुवा लिई जाँदै गरेको ट्याक्टरबाट खसेर ११ वर्षीया रुपमिना बरई मगरको मृत्यु भएको छ । प्र २–०३–००१ त ३१६० नम्बरको ट्याक्टरमा सवार दुधौली नगरपालिका–२, हत्पतेकी रुपमिना ट्याक्टरबाट खसेर घाईते भएकी थिइन् । उपचारको क्रममा रुपमिनाको मृत्यु भएको हो । प्रहरीले ट्याक्टर चलाक सिन्धुलीको दुधौली–१ का १८ वर्षीय अर्जुन न्यौपानेलाई नियन्त्रणमा लिएको लिएको छ ।











