स्मारिका विमोचन गरिँदै ।

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले औद्योगिक क्षेत्रको दिगो विकासका लागि उद्योगी व्यवसायीहरू स्वयम् जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । उद्योग संघ मकवानपुरको ४६ औं स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा शुक्रबार हेटौँडामा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले उद्योगी, उद्यमीहरूको संगठन धेरै भएपनि ती सबैले वास्तविक हित नगरेको टिप्पणी गर्नुभयो ।

मुख्यमन्त्री लामाले सम्पूर्ण उद्योगी व्यवसायीहरूको हकहितमा काम गर्ने एउटा बलियो र साझा संगठनको आवश्यकता औँल्याउनुहुँदै अधिकार प्राप्त गर्न उद्योगीहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राज्यले लगानी गरेका केही योजनाबाट अपेक्षित प्रतिफल नआएको उल्लेख गर्नुहुँदै दुग्ध पाउडर प्लान्ट र शितभण्डारण केन्द्रमा प्रदेश सरकारले गरेको लगानीले सोचे अनुरुप उपलब्धि हासिल गर्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले युवाहरूको विदेश पलायन रोक्न ‘स्टार्टअप’ को अवधारणा नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिनुभयो । स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन गर्ने र व्यवसाय दर्ता प्रक्रियालाई सहज बनाउनेतर्फ सरकारले कानुनी सुधार गरेको उहाँको भनाई थियो । उहाँले सिन्धुली र नुवाकोटमा नमुना औद्योगिक ग्राम सञ्चालनको तयारी भइरहेको पनि जानकारी दिनुभयो ।

संघका अध्यक्ष बद्रीनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग संघ मकवानपुरद्वारा प्रकाशित स्मारिकाको विमोचन गरिएको थियो । उक्त अवसरमा साना, मझौला र ठूला उद्योग श्रेणीअनुसार शुभ डेरी इण्डस्ट्री प्रालि, नेपाल पास्ता फुड प्रालि र नेपाल इकरात इन्जिनियरिङ कम्पनीलाई सम्मान समेत गरिएको थियो ।