विद्यालय कप्तान विर्नाचित सागर न्यौपाने र उपकप्तान निर्वाचित समिता लामा ।

हेटौँडा : हेटौँडा–११, नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा विद्यालयको कप्तान, उपकप्तान र सदनको कप्तान चयनका लागि निर्वाचन भएको छ । बुधबार भएको निर्वाचनबाट विद्यालय कप्तानमा सागर न्यौपाने र उप–कप्तानमा समिता लामा निर्वाचित हुनुभएको छ ।

यस्तै रातो सदनको कप्तानमा सन्जिव लोप्चन, हरियो सदनको कप्तानमा रेश्मा साह, पहेँलो सदनको कप्तानमा सृष्टि घलान, निलो सदनको कप्तानमा रचना मुक्तान चयन हुनुभएको छ । निर्वाचनमा ३ सय ६५ जना विद्यार्थीले मतदान गरेका थिए । निर्वाचन प्रक्रियामा विद्यालयका शिक्षकहरुले सहजीकरण गर्नुभएको थियो । निर्वाचन सामग्री निर्वाचन आयोगको हेटौँडास्थित कार्यालयबाट लिएर निर्वाचन गराइएको थियो । प्रमुख निर्वाचन अधिकृतको भूमिका शिक्षक दुर्गाप्रसाद पराजुलीले निर्वाह गर्नुभएको थियो ।

निर्वाचनमा कक्षा–४ देखि ११ सम्मका विद्यार्थीले मतदानको अवसर पाएका थिए भने कक्षा–६ देखि ९ सम्मका विद्यार्थी उम्मेदवार हुने व्यवस्था गरिएको थियो । निर्वाचनको प्रक्रियाका विषयमा वडाध्यक्ष जुना दाहालसहित वडा सदस्यहरु, अभिभावकहरुले अवलोकन गर्नुभएको थियो । विद्यालयले पहिलो पटक निर्वाचनको अभ्यास गरेर विद्यार्थीलाई निर्वाचनसम्बन्धी सचेतना अभिवृद्धिको प्रयास गरिएको प्रधानाध्यापक रामकुमार बर्तौलाले जानकारी दिनुभयो ।