हेटौँडा: मकवानपुर जिल्लाको कैलाश गाउँपालिकामा कार्यरत अंग्रेजी विषय शिक्षकहरुलाई पुनर्ताजगी तालिम प्रदान गरिएको छ । गाउँपालिकाको आयोजना भएको आधारभूत, निम्न र माध्यमिक तहका अंग्रेजी विषय शिक्षकलाई चार दिने पुनर्ताजगी तालिम प्रदान गरिएको हो ।
बिहीबार भएको तालिमको समापन कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले दीगो विकास लक्ष्यका लागि शिक्षा क्षेत्रको ठूलो भूमिका रहने भएकाले शिक्षा क्षेत्रमा लगानी गर्दै आइरहेको बताउनुभयो । उहाँले शिक्षामा लगानी अुनरुप नतिजा निकाल्न समय समयमा यस्ता पुनर्ताजगी तालिमहरुको आयोजना गर्दै आइरहेको बताउनुभयो ।
प्रअहरुलाई पनि सिकाईका लागि तालिम भ्रमणहरु जस्ता क्रियाकलाप गर्दै आइरहेका र आगामी दिनहरुमा पनि गर्ने अध्यक्ष मुक्तानले भन्नुभयो । शिक्षक र विद्यार्थीको सामिप्यता ज्यादा हुनुपर्ने उल्लेख गर्नुहुँदै पढाईका विधिहरुमा पनि केही परिवर्तन गर्दै अध्यापन गराउन अध्यक्ष मुक्तानले शिक्षकहरुलाई आग्रह गर्नुभयो । भौगोलिक विकटता रहेको र त्यसमा पनि अभिभावकमा चेतनाको कमी भएकोले सोही अनुरुप शिक्षामा विस्तारै परिवर्तन गरेर पढाउनुपर्ने अध्यक्ष मुक्तानले बताउनुभयो ।
गाउँपालिकाका विद्यालयहरुमा पूर्वाधारमै समस्या रहेको र पर्याप्त मात्रामा सुविधा भएको तालिम केन्द्र नभएको अवस्थामै छिट्टै नै आवासीय व्यवस्था सहित तालिम केन्द्र सञ्चालन गर्ने सोच रहेको अध्यक्ष मुक्तानले बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले पुनर्ताजगीले थप सोच, विचार र पठनपाठनमा परिवर्तन हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले समृद्ध कैलाश बनाउन शिक्षाको भूमिका महत्वपूर्ण रहने भएकाले शिक्षकहरुको सकरात्मक सोचले विद्यार्थीहरुलाई विद्यालय आउने वातावरण बनाउन सक्ने समेत आग्रह गर्नुभयो । ‘अभिभावकमा चेतना छैन, विद्यार्थीलाई कसरी विद्यालय ल्याउने भन्ने तर्फ गाउँपालिका त छदैँ छ शिक्षकहरुले पनि ध्यान दिनु हुन आग्रह गरे’, उपाध्यक्ष मल्लले भन्नुभयो ।
कार्यक्रममा प्रशिक्षक सूर्यप्रसाद घिमिरेले तालिम पश्चात भएको परिवर्तनलाई सुरुमै विद्यार्थीले आभाष हुने गरी कार्यान्वयन गर्न आग्रह गर्नुभयो । सिकेका सीपलाई विद्यार्थीसँगै अन्य शिक्षकहरुसँग पनि साट्न सकिने घिमिरेले बताउनुभयो । कार्यक्रममा सहभागीको तर्फबाट शिक्षकद्वय गीता थपलिया र अर्जुन राईले आफ्नो अनुभव प्रस्तुत गर्नुभएको थियो ।
कालिका माध्यामिक विद्यालय नामटारका प्रधानाध्यापक रामप्रसाद कालाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, प्रशिक्षकद्वय सूर्यप्रसाद घिमिरे र विवशजंग थापा, शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र अधिकारी, स्रोत शिक्षक ध्रुवराज विष्टलगायतको आतिथ्यता रहेको थियो । तालिममा ४५ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।










