हेटौँडा: विश्व वातावरण दिवसको अवसरमा हेटौँडामा सप्ताहव्यापी कार्यक्रम हुने भएको छ । टोल विकास संस्था नगर समन्वय समिति हेटौँडाले विश्व वातावरण दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाउने भएको हो । बिहीबार पत्रकार सम्मेलन गरेर शुक्रबारदेखि एक साता विविध कार्यक्रम गरिने टोल विकास संस्था नगर समन्वय समिति हेटौँडाका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
साताव्यापी कार्यक्रमअन्तर्गत आज शुक्रबार रक्तदान कार्यक्रम हुनेछ । हेटौँडा उपमहानगरपालिकाको कार्यालय परिसरमा रक्तदान कार्यक्रम हुनेछ । यस्तै दोस्रो दिन शनिबार सफा हेटौँडा अभियानअन्तर्गत टोल विकास संस्थाहरुमार्फत टोल–टोलमा सरसफाई कार्यक्रम हुनेछ । आइतबार चित्रकला प्रतियोगिता र प्रकृति संवाद कार्यक्रम हुनेछ । सोमबार बोत्तल देउ विरुवा लिउ कार्यक्रम गरी २ सय ५० भन्दा बढी विरुवा वितरण गर्ने बताइएको छ । मंगलबार जलवायु सचेतनाका लागि समूह छलफल र सचेतनामूलक चलचित्र प्रदर्शनको कार्यक्रम रहेको छ भने वृक्षरोपण पनि गरिनेछ ।
यस्तै बुधबार विद्यालयस्तरीय खेर गएका वस्तुबाट उत्पादित सामग्रीको प्रतिस्पर्धा हुनेछ । बिहीबार म मेयर भएँ भने सहर सफा राख्ने उपायमा आधारित भिडियो प्रतियोगिता र विश्व वातावरण दिवसको मूल कार्यक्रमको रुपमा वातावरणीय सचेतनामूलक र्याली, सम्मान, पुरस्कार वितरण गरी सप्ताहव्यापी कार्यक्रमको समापन हुने बताइएको छ । जुन ५ मा विश्व वातावरण दिवस मनाइनेछ ।











