हेटौँडा ः नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आयोजना गरेको प्रदेशभित्रका जिल्ला अध्यक्ष, सचिव, कोषाध्यक्षको भेला १३ बुँदे घोषणापत्र जारी गर्दै बुधबार हेटौँडामा सम्पन्न भएको छ । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भेलाको उद्घाटन गर्नुभएको थियो ।
प्रदेश समितिले घोषणापत्रमार्फत पत्रकारलाई सामाजिक सुरक्षा कोषमा समेट्न, स्वास्थ्य बीमा र दुर्घटना बीमामा समेट्न माग गरेको छ । स्वरोजगारमूलक मिडियालाई संरक्षण गर्न सम्बन्धित सरकारले आफ्नो कार्य क्षेत्रमा दर्ता र सञ्चालनमा रहेका सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन अनिवार्य रुपमा उपलब्ध गराउन र समानुपातिक रुपमा वितरण गर्ने व्यवस्था मिलाउन घोषणापत्रमा भनिएको छ ।
पत्रकारलाई महासंघको सिफारिसमा प्रदेश मातहतका सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्थापन गर्न, सञ्चारकर्मी र सञ्चारमाध्यमको क्षमता विकास, भौतिक पूर्वाधार विकास लगायतका क्षेत्रमा सरकारको तर्फबाट नीति, कार्यक्रम र बजेटमा व्यवस्थापन गर्न माग गरिएको छ । बागमती प्रदेशस्तरमा प्रशिक्षण केन्द्र र जिल्लास्तरमा सूचना केन्द्र, पुस्तकालय स्थापना गरी सञ्चार क्षेत्रको प्रवद्र्धनमा काम गर्न, सञ्चारमाध्यमहरुलाई उद्योगका रुपमा मान्यता दिन, अनुदान र सहुलियत ऋण उपलब्ध गराउन, सबै खाले संचारमाध्यमलाई वर्गीकरण गरी लोककल्याणकारी सुविधा उपलब्ध गराउन, पत्रकार र सञ्चारमाध्यमका उपकरण खरिदमा अनुदानको व्यवस्था मिलाउन भनिएको छ ।
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालयमा दर्ता नभए पनि नेपाल सरकारका अन्य निकायमा बागमती प्रदेशभित्र कार्यक्षेत्र हुने गरी दर्ता गरिएका संचारमाध्यमलाई सूचीकरण गरी सेवा सुविधा उपलब्ध गराउन, महिला र अपांगता भएका व्यक्तिहरुले संचालन गरेका स्वरोजगारमूलक संचार माध्यमहरुलाई र महिला र अपांगता भएका संचारकर्मीहरुलाई सुरक्षा, संरक्षण सहितको विशेष सुविधा र अनुदानको व्यवस्था गर्न घोषणापत्रमा भनिएको छ । विपद् र द्वन्द्वको समयमा जोखिमपूर्ण क्षेत्रमा पत्रकारिता गर्ने पत्रकारहरुलाई सुरक्षासहितको प्रोत्साहनको व्यवस्था गर्न, खोजमुलक पत्रकारिता गर्ने पत्रकारहरुलाई लेखनवृत्तिको व्यवस्था गर्न, सञ्चारमैत्री नीति निर्माण गरी सञ्चार क्षेत्रको विकास, सम्वद्र्धन र प्रवर्धन गर्न घोषणापत्रमार्फत माग गरिएको छ ।











