हेटौंडाः स्वीकृत भन्दा बढी लोड लिएर आउने १३ वटा ट्रिपरलाई यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले तीन लाख २१ हजार ४१ रुपैया जरिवाना गराएको छ । ट्राफिक प्रहरी कार्यालय मकवानपुरले कारवाहीका लागि पठाएका १३ वटा ट्रिपरलाई यातायात सेवा कार्यालयले नियमानुसार कारवाही गरेको हो ।स्वीकृत भन्दा बढी लोड ढुवानी गरे यातायात कार्यालयले जम्मा दूरीअनुसार ओभरलोड र जरिवानासहित कारवाही गर्ने गरेको छ ।
ट्राफिक प्रहरी कार्यालयले शुक्रबार र शनिबार दुई दिनमा बिर्तामोड र बीरगन्जबाट आएका ट्रिपरहरुले बढी तौल ढुवानी गरेको पाइएपछि कारवाही गर्न यातायात सेवा कार्यालय पठाएको हो । १७ टन लोड ढुवानी गर्ने अनुमति पाएका ट्रिपरले ५ देखि १० टनसम्म बढी लोड ढुवानी गरेको पाइएपछि ट्रिपरलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव निरीक्षक हरिबहादुर क्षेत्रीले जानकारी दिनुभएको छ । हेटौंडा–११, थानाभर्याङस्थित तौलपुलमा तौल गर्दा बढी तौल ढुवानी गरेको पाइएपछि नियन्त्रणमा लिइएको हो । बीरगन्जबाट कोइला लोड गरी ल्याएका ५ वटा ट्रिपर र बिर्तामोडबाट जिप्सन लोड गरी ल्याएका ८ वटा ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।