हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिकादेखि दक्षिणतर्फ पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा मनहरी–२ का ६२ वर्षीय श्यामबहादुर ब्लोन बेपत्ता भएका छन् । शुक्रबार निकुञ्ज क्षेत्रमा श्यामबहादुरसँगै २८ वर्षीय श्रवणकुमार ब्लोन र ५० वर्षीय भक्तबहादुर आले मगर पनि गएका थिए ।
निकुञ्ज क्षेत्रबाट श्रवणकुमार र भक्तबहादुर फर्किए पनि श्यामबहादुर भने बेपत्ता भएको प्रहरीले जनाएको छ । मनहरी–२ का वडाध्यक्ष राजकुमार पाख्रिनका अनुसार श्यामबहादुरसँगै निकुञ्ज क्षेत्र पुगेका श्रवणकुमार र भक्तबहादुरले श्यामबहादुरलाई हात्तीले आक्रमण गरेको थियो । जंगली हात्तिको आक्रमणमा परेका श्याम बहादुरको अवस्था यकिन हुन नसकेको र सोमबार निकुञ्ज क्षेत्रमा खोजीको प्रयास भइरहेको वडाध्यक्ष पाख्रिनले जानकारी दिनुभयो । प्रहरीले श्यामबहादुरसहित श्रवणकुमार र भक्तबहादुर निउरो र च्याउ खोज्न गएको जानकारी गराएको छ ।











