हेटौँडा : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले आइतबार हेटौँडामा मानवअधिकार वर्ष पुस्तक–२०२५ को समीक्षा गरेको छ । सन् २०२४ मा देशभर भएका मानव अधिकार उल्लंघनका घटनाका विवरण समेटिएको मानव अधिकार वर्ष पुस्तक–२०२५ को विषयमा सरोकारवालाको सहभागितामा इन्सेक बागमती प्रदेश कार्यालयले समीक्षा गरेको हो ।
इन्सेकले सन् १९९२ देखि देशभरका मानव अधिकार उल्लंघनका घटनाको दस्तावेजीकरण गर्दै आएको छ । मानव अधिकार वर्ष पुस्तक–२०२५ को सार प्रस्तुत गर्नुहुँदै इन्सेक बागमती प्रदेश कार्यालयका गणेश भण्डारीले सरोकारवालालाई पृष्ठपोषण गर्नुहुन आग्रह गर्नुभएको थियो । भण्डारीको प्रस्तुतीपछि आमसञ्चार तथा पत्रकारिता विषयका सहायक प्राध्यापक एवम् सम्पादक सुरेश श्रेष्ठ र वरिष्ठ पत्रकार प्रताप विष्टले संक्षिप्त टिप्पणी गर्नुभएको थियो । सहभागीले मानव अधिकार वर्ष पुस्तक महत्वपूर्ण दस्तावेजको रुपमा रहेको र यसबाट सरोकारवालाले मानव अधिकार उल्लंघनका घटनालाई विश्लेषण गरी आगामी दिनमा त्यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सतर्कता र आवश्यक तयारी गर्न सक्ने बताएका छन् ।
समीक्षा कार्यालयमा मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्काको पनि आतिथ्य रहेको थियो । उहाँले विभिन्न घटनामा प्रहरीले जाहेरी दर्ता नगरेको भन्ने विषयलाई स्पष्ट पार्नुभएको थियो । कुनै पनि विषयमा जाहेरी प्राप्त हुनासाथ दर्ता गर्नु उचित नहुने उल्लेख गर्नुहुँदै प्रहरी प्रमुख खड्काले भन्नुभयो। ‘कसैको आरोप लगायो भन्दैमा कसैविरुद्ध सहजै मुद्दा दर्ता गर्नुअघि हामीले आरोपितको पक्षबाट पनि आवश्यक अध्ययन गर्नुपर्ने हुन्छ । पीडित पक्षको आरोप स्वभाविक देखिएपछि हामी मुद्दा दर्ता गर्छौं ।’
केही अधिकारकर्मीले मानवअधिकारको संरक्षणमा पैरवी गर्दै गर्दा जोखिम समेत रहने गरेको बताएका थिए । अधिकारकर्मीले पीडितको पक्षबाट पैरवी गर्दै गर्दा राजनीतिक दलका नेता, कार्यकर्ताहरु पीडकको पक्षमा वकालत गर्दै सुरक्षा चुनौति रहने गरेको एक अधिकारकर्मीले बताए ।











