म्यान अफ द म्याच वडा नं १५ का गोलरक्षक सन्देश मगरले नगर उपप्रमुख राजेश बानियाँद्धारा चेक ग्रहण गर्दौ गर्दाको तस्बिर

हेटौँडा: हेटौँडामा जारी मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा हेटौँडा–१५ र हेटौँडा–१७ विजयी भएको छ । वर्षाका कारण बुधबार हुन नसकेका दुई खेल बिहीबार भएको हो ।

हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा बिहीबारको पहिलो खेल हेटौँडा–१५ ले हेटौँडा–५ लाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।

टाइब्रेकरमा हेटौँडा–१५ ले हेटौँडा–५ लाई ३–२ गोलअन्तरले पराजित गरेको हो । म्यान अफ द म्याच हेटौँडा–१५ का सन्देश मगर घोषित भए । यस्तै बिहीबार भएको दोस्रो खेलमा हेटौँडा–१२ लाई २–० गोलअन्तरले पराजित गर्दै हेटौँडा–१७ विजयी भएको हो ।

दोस्रो खेलको म्यान अफ त म्याच हेटौँडा–१७ का समीरराज थोकर घोषित भए । मेयर कप फुटबल प्रतियोगितामा हेटौँडा उपमहानगरका १९ वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो खेल हेटौँडा–२ र हेटौँडा–७ बीच हुनेछ भने दोस्रो खेल हेटौँडा–८ र हेटौँडा–९ बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता विजेताले २ लाख ५० हजार रुपैयाँ र उपविजेताले २ लाख रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।