हेटौँडा : बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले कुलेखानी–फाखेल–हुमाने सडकको आकस्मिक अनुगमन गर्नुभएको छ । बिहीबार साँझ मन्त्री मास्केले सो सडकको स्थलगत अनुगमन गर्नुभएको हो । सडक बन्द गरेर स्तरोन्नतिको कार्य भइरहेको स्थानमा मन्त्री मास्केले अनुगमन गर्नुभएको हो । हेटौंडा–काठमाडौं जोड्ने उक्त सडक बागमती प्रदेश सरकारको लगानीमा असार अगावै सक्ने गरी स्तरोन्नतिसहित कालोपत्रे गर्ने काम भइरहेको छ ।
जेठ २ गतेबाट कालोपत्रे सुरु भएको उक्त सडकमा लापरवाही ढंगबाट काम भएको गुनासो आएपछि मन्त्री मास्के आकस्मिक रुपमा अनुगमनमा पुग्नुभएको हो । सो सडक खण्डको हुमानेदेखि राकस खोलासम्म गरिएको कालोपत्रे उक्किएको भन्दै स्थानीयले विरोध गरेका थिए । केही दिनअघि मात्र हालिएको उक्त कालोपत्रे उप्किएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि सडकको अवस्था बुझ्न मन्त्री मास्के अनुगमनका लागि पुग्नुभएको हो ।
१९ दिनमा कालोपत्रे सक्ने गरी काम भइरहेको सो सडकमा रातको समयमा पनि कालोपत्रे हाल्ने काम भइरहेको थियो । पूर्वाधार विकास कार्यालय मकवानपुरका अनुसार जेठ १९ गतेसम्म काम सक्नुपर्ने र मौसम अनुकुल नहुँदा रातको समयमा पनि काम गराइएको थियो । विपद् प्रभावित उक्त सडकको असार अगावै काम सक्नेगरी निर्माण व्यवसायीलाई अधिकतम परिचालन गरी सडक कालोपत्रे गर्ने काम भएको कार्यालयका प्रमुख इन्जिनियर सुजन भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वर्षायाममा हेटौँडा–काठमाडौं सहज यात्राका लागि सो सडक तयार गर्नेगरी विपद्बाट क्षति पुगेका क्षेत्रमा समेत काम भइरहेको र कालोपत्रे गर्नुपर्ने स्थानमा छिटो काम सक्नेगरी अघि बढाइएको छ । कालोपत्रे हालिएको स्थानमा केही व्यक्तिहरुले साबेल प्रयोग गरी उकाउने र असारे विकास भन्दै विरोध गर्ने काम गरेको उहाँले बताउनुभयो । सडक कालोपत्रसहित विपद्ले क्षति पुगेको स्थानको व्यवस्थापनको काम तीव्र गतिमा अघि बढाइएको उहाँको भनाई छ ।
हुमानेदेखि कंलकीसम्मको १२.६ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । ८.५० किलोमिटर सतह कालोपत्रे तथा ४ किलोमिटर ढलान कार्य हुनेछ । उहाँका अनुसार २०८० वैशाख १७ मा ३५ करोड ४८ लाख ८८ हजार ९१६ रुपैयाँमा सडक कालोपत्रका लागि सम्झौता गरिएको थियो । हाल सो सडक खण्डको २ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य भइसकेको छ । अनुगमनका क्रममा मन्त्री मास्केले निर्माण भएका संरचनाको गुणस्तर कायम गर्ने विषयमा गम्भीर हुन निर्देशन दिनुभयो । गुणस्तरमा मन्त्रालयले कुनैपनि सम्झौता नहुने उहाँले बताउनुभयो ।
‘नागरिकको करबाट निर्माण भएको संरचना गुणस्तरहीन हुनु हुँदैन । निर्माणको काममा ठेक्का सम्झौता गर्ने निर्माण व्यवसायीसँगै कार्यालयको इन्जिनियर जिम्मेवार र उत्तरदायी हुनुपर्छ’, मन्त्री मास्केले भन्नुभयो, ‘निर्माण भएको संरचना परीक्षणपछि मात्र भुक्तानी तथा हस्तान्तरणको प्रक्रियामा अघि बढ्ने छ ।’
सो सडक खण्डको कालोपत्रे गरिएको स्थानबाट कोर कटिङ गरे गुणस्तर परीक्षण गरेर अघि बढ्ने गरी नमुना संकलन गरेर परीक्षणका लागि पठाइएको उहाँले बताउनुभयो । गत असोजमा गएको विपद्मा बाढीका कारण कुलेखानी–फाखेल–हुमाने सडकसहित हेटौंडा–काठमाडौं जोड्ने कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकमा समेत क्षति पुगेको थियो । कुलेखानी जलाशयको बाढीले सो सडकको ट्रयाक बगाएको थियो भने सिमखोलाको पुलको पहुँच मार्ग बगाएको थियो ।











