हेटौँडा: काठमाडौंमा जारी यु–१६ प्रदेशस्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा मकवानपुरले काठमाडौंलाई हराएको छ । बिहीबार भएको खेलमा मकवानपुरले काठमाडौंलाई ४० रनले पराजित गरेको हो ।
टस जितेर काठमाडौंले मकवानपुरलाई व्याटिङको निम्तो दिएको थियो । निर्धारित ३५ ओभरमा मकवानपुरले ५ विकेट गुमाएर १ सय ९७ रन जोड्न सफल भयो । मकवानपुरका लागि कप्तान रोहित ठाकुरले ५४ रन, मोहम्मद गुलामले ४५ रन र आशिक अधिकारीले ३२ रनको योगदान दिए ।
१ सय ९८ रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको काठमाडौंले ३३ ओभर १ बल खेल्दै १ सय ५७ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो । काठमाडौंका लागि इशान साह सुवेदीले ४० रन, प्रसिद्ध जैसीले ३१ रन र सूर्य ठकुरीले १५ रन बाहेक अन्य व्याट्सम्यानले उल्लेख्य योगदान गर्न सकेन । प्लेयर अफ द म्याच मकवानपुरका रोहित ठाकुर घोषित भए ।
जेठ ६ गतेदेखि काठमाडौंमा सुरु भएको छनोट प्रतियोगितामा मकवानपुरले आज शुक्रबार भक्तपुरको सामना गर्नेछ । प्रदेशस्तरीय छनोट खेल जेठ १३ गतेसम्म सञ्चालन हुनेछ ।










