कक्षा–११ को वार्षिक परीक्षा दिँदै विद्यार्थी ।

हेटौँडा : मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा–११ को वार्षिक परीक्षा सुरु भएको छ । बुधबारबाट सुरु भएको परीक्षामा ९ सय १२ जना विद्यार्थी सहभागी भएको मकवानपुर बहुमुखी क्याम्पसका प्राचार्य सन्देश विडारीले जानकारी दिनुभएको छ ।

परीक्षा फारम भरेका मध्ये ५२ जना विद्यार्थी पहिलो दिन अनुपस्थित भएको प्राचार्य विडारीले बताउनुभयो । मकवानपुर बहुमुखी क्याम्पसले दिउँसो १ बजेबाट परीक्षा सञ्चालन गरेको छ । मकवानपुर बहुमुखी क्याम्पसमा बिहानी र दिवा सत्र गरी दुई सत्रमा कक्षा ११ र १२ को पठनपाठन गराउँछ । मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा–११ र १२ मा विज्ञान, वाणिज्य, मानविकी र शिक्षाशास्त्र संकायमा पठनपाठन हुन्छ ।

जेठ १६ गतेसम्म सञ्चालन हुने परीक्षाको नतीजा भने असार पहिलो सातासम्ममा सार्वजनिक गरिने प्राचार्य विडारीले जानकारी दिनुभयो । वार्षिक परीक्षाको नतीजा प्रकाशनपछि ग्रेडवृद्धि मौका परीक्षा समेत सञ्चालन गरिने र असारको तेस्रो सातादेखि कक्षा–१२ को पठनपाठन सुरु गर्ने योजना रहेको उहाँले बताउनुभयो ।