हेटौँडा : ‘शिक्षा र विकासमा प्रदेश विश्वविद्यालय ः सम्भावना, चुनौती र रणनीति’ विषयक शैक्षिक अन्तरक्रिया तथा सम्मान कार्यक्रम मंगलबार हेटौँडा क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । प्रजातान्त्रिक विचार समाज मकवानपुरले आयोजना गरेको कार्यक्रम समाजका अध्यक्ष देवचन्द्र मानन्धरको अध्यक्षता तथा बागमती प्रदेश विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको प्रमुख अतिथि रहेको थियो ।
कार्यक्रममा शिक्षा, कानून तथा शैक्षिक संस्थासँग सम्बद्ध व्यक्तिहरूले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए । प्रमुख अतिथि प्रा. डा. पौडेलले प्रदेश विश्वविद्यालयको औचित्य र विकासमा यसको भूमिका स्पष्ट पार्नुहुँदै प्रदेशस्तरमै उच्च शिक्षाको पहुँच विस्तार गर्न प्रदेश विश्वविद्यालय अपरिहार्य रहेको बताउनुभयो । वरिष्ठ अधिवक्ता ध्रुव चौलागाईंले जति विश्वविद्यालय खोलिए पनि त्रिभुवन विश्वविद्यालयमै सबैभन्दा बढी विश्वास रहिरहेको भन्नुहुँदै गुणस्तर र संरचना सुधारलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । हेटौँडा क्याम्पस सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले बागमती प्रदेश विश्वविद्यालयलाई हेटौँडाका लागि अवसरको रुपमा व्याख्या गर्दै आफ्नै स्थानमा छोराछोरीले डाक्टर पढ्न पाउने सम्भावना भएको यस संस्थाको विकास राज्यको प्राथमिकता हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले प्रदेशस्तरको विश्वविद्यालयलाई गुणस्तरीय र दिगो बनाउने विषयमा धारणा राख्नुभएको थियो । मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक निमेष निखिलले विदेश जाने विद्यार्थीको संख्या बढ्दै गएको तर यहाँका विद्यार्थी संख्या घट्दै गएको यथार्थप्रति संकेत गर्नुहुँदै विद्यार्थी घट्दो अवस्थामा विश्वविद्यालय थपिँदा शैक्षिकस्तर त खस्किने होइन भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले गुणस्तर कायम राख्दै नयाँ विश्वविद्यालय स्थापना गर्न नीति निर्माताले गम्भीर छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाईंको पनि आतिथ्य रहेको थियो । निर्मल बहुमुखी क्याम्पसका प्रमुख सुवासचन्द्र कँडेलले स्नातक तहमा पहिलो वर्ष कलेजमा ११० जना विद्यार्थी दर्ता हुने गरेको र चौथो वर्षसम्म ४० जना मात्र टिक्ने अवस्था रहेको जानकारी दिनुभयो । उहाँले पढ्छु भन्ने विद्यार्थी घटिरहेकाले मार्गदर्शन र शैक्षिक वातावरण सुधार आवश्यक रहेको बताउनुभयो । कार्यक्रमले प्रदेशस्तरीय उच्च शिक्षामा विद्यमान समस्या, चुनौती र सम्भावनाहरूबारे गहिरो बहसको वातावरण सिर्जना गरेको सहभागीहरूले बताएका छन् । सहभागीहरूको धारणा अनुसार यस्ता अन्तरक्रियाले शिक्षा नीतिमा सुधार ल्याउन सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।











