सडक अवरुद्ध हुने विषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचना ।

हेटौँडा : हेटौँडा–काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिन बन्द हुने भएको छ । सडक स्तरोन्नति कार्यका लागि १९ दिन सवारी आवागमन बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै सो सडक बन्द गर्ने निर्णय भएको जनाएको छ । सो सडक पूर्वाधार विकास कार्यालयमार्फत् स्तरोन्नतिको काम भइरहेको छ । पूर्वाधार विकास कार्यालयको पत्राचार बमोजिम इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडक खण्ड कालोपत्रे गर्ने प्रयोजनका लागि जेठ २ गतेदेखि २० गतेसम्म (१९ दिन) बन्द गरिने भएको हो ।

१९ दिन उक्त सडक खण्डमा सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौँडा–काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । प्रशासन कार्यालयले सो अवधिमा कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न आग्रह गरेको छ ।