दशकौंदेखि विद्युत् लोडसेडिङले आक्रान्त बनेका नेपालीलाई फेरि लोडसेडिङ हुने हो कि भन्ने चिन्ताले सताएको छ । मलुकमा विद्युत्को माग र आपूर्तिबिच सन्तुलन मिलाउन नसक्दा करिब ७ वर्ष अघिसम्म देश लोडसेडिङको चपेटामा थियो । सरकारले ऊर्जा संकटकाल घोषणा गरेर जलविद्युत् उत्पादन तथा वैकल्पिक ऊर्जा प्रवद्र्धनमा जोड दिए पनि त्यसले सार्थकता पाउन सकेको थिएन । दैनिक १६ घण्टासम्म विद्युत् प्रयोग गर्न नपाउने अवस्थाबाट आजित भएका नेपालीले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि निकै राहत महसुस गरे । घिसिङले प्राधिकरणको जिम्मेवारी लिएको करिब ३ महिनामै काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाए । त्यसको करिब ६ महिनापछि विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्दै उनले देशलाई नै लोडसेडिङमुक्त बनाए ।

लोडसेडिङले अन्धकारमा बस्न बाध्य भएका नेपालीलाई नियमित विद्युत् उपभोग गर्न सक्ने अवस्था पु¥याएपछि कुलमानको निकै प्रशंसा भयो । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशको रुपमा पहिलो ४ वर्षे कार्यकालमा उनले लोडसेडिङमुक्त मात्र गरेनन्, अरबौं नोक्सानीमा रहेको प्राधिकरणलाई नाफामा पु¥याए । पहिलो कार्यकालमा पाएको लोकप्रियताले उनलाई दोस्रो पटक पनि प्राधिकरणको नेतृत्व गर्ने अवसर प्राप्त भयो । प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर कुलमानलाई पुनः दोस्रो पटक प्राधिकरणको कार्यकारी निर्देशक बनाइयो । दोस्रो कार्यकालमा पनि उनले विद्युत्को उत्पादन, आपूर्ति, वितरणलगायत कामलाई थप व्यवस्थित बनाए । वर्षाको समयमा बढी हुने विद्युत् भारत निर्यात गरेर वार्षिक १५ अरबभन्दा बढी आम्दानी गर्न सफल भए ।

कुलमान घिसिङको दोस्रो कार्यकाल सकिन करिब ४ महिना बाँकी हुँदा सरकारले उनलाई पदमुक्त गरी शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनायो । उनलाई हटाउने तयारी भइरहँदादेखि नै धेरै नेपालीले देशमा फेरि लोडसेडिङको समस्या आउनसक्ने आशंका गरेका थिए । विद्युत् प्राधिकरणको नेतृत्व परिवर्तन भएपछि पछिल्लो समय विद्युत् आपूर्तिमा हुने अनियमितता बढेको छ । विद्युत् प्राधिकरणको नेतृत्वले लोडसेडिङ होइन, हुँदैन भने पनि धेरैले विश्वास गर्न सकेका छैनन् । प्राधिकरणबाट घिसिङ हटाइएको डेढ महिना पनि नहुँदै वर्तमान कार्यकारी निर्देशक शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै प्राधिकरण करिब ६ अर्ब घाटामा रहेको बताएपछि थप शंका उत्पन्न भएको छ । चालु आर्थिक वर्षमा प्राधिकरणको नाफा ८ अर्बभन्दा बढी रहेको भनिए पनि वर्तमान नेतृत्वले घाटामा रहेको विवरण सार्वजनिक गरेपछि व्यापक आलोचनासमेत भइरहेको छ । त्यतिमात्र नभई प्राधिकरणसँग नगद मौज्दात शून्य रहेको र बक्यौता भुक्तानीका लागि १० अर्ब रुपैयाँ ऋण दिनुपर्ने वा विद्युत् महशुल बढाउनुपर्ने भनेपछि जनआक्रोश झनै बढेको छ ।

आम नेपालीको आशंका मिल्दै गएको अहिले बारम्बार विद्युत् आपूर्ति अवरुद्ध भइरहँदा कतिपयले अघोषित लोडसेडिङ भन्ने गरेका छन् । विगतमा जस्तो तालिका नै बनाएर लोडसेडिङ गर्ने हिम्मत वर्तमान सरकार र प्राधिकरण नेतृत्वमा छैन । स्वभाविकरुपमा हिउँदको समयमा विद्युत् उत्पादनमा कमी आउने भएकाले विद्युत् आपूर्ति र वितरणबिच सन्तुलन कायम गर्न कठिनाइ छ । तर, कुलमानले जसरी विद्युत् आपूर्तिलाई नियमित गर्न अहिले नसकेकै हो । बारम्बार विद्युत् आपूर्ति बन्द भइरहेकाले अहिले अघोषित लोडसेडिङको समस्या सबले भोग्नुपरेको छ । सरकार र प्राधिकरणको नेतृत्वले नेपालीलाई फेरि लोडसेडिङ गरेर पीडा दिने काम नगरोस् ।