हेटौँडा : बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफलेले स्थानीय नागरिकको आवश्यकता पहिचान गरी बजेटमा सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । उहाँले आम नागरिकको आवश्यकता र मागलाई पहिचान गरी स्थानीय तहको समन्वयमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा बुधबार भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जूमाको सम्बन्धी स्थानीय सरकारसँगको पूर्व बजेट छलफलमा बोल्नुहुँदै मन्त्री काफ्लेले बजेटमा स्थानीय र प्रदेश सरकारको प्राथमिकता समान हुन जरुरी रहेको बताउनुभयो । विगतमा स्थानीय र प्रदेश सरकारको तालमेल नमिल्दा बजेटको सदुपयोग हुन नसकेको उहाँको भनाई छ ।
दुबै सरकारको एकै प्राथमिकता हुनेगरी गुणस्तरीय विकास र सहज सेवा प्रवाहको दिशामा आगामी वर्षको बजेट विनियोजन हुनुपर्नेमा उहाँले बताउनुभयो । मन्त्री काफ्लेले अलपत्र योजनाहरुलाई निर्माण प्रक्रियामा लैजानका लागि सरकार गम्भीर रहेको समेत बताउनुभयो । आगामी बजेटको प्राथमिकतामा त्यसतर्फ काम गर्ने उहाँले बताउनुभयो । स्थानीय सरकारले आगामी योजना निर्माण गर्दा उत्पादन र रोजगारसँग जोडेर निर्माण गर्नुपर्नेमा मन्त्री काफ्लेले आग्रह गर्नुभयो ।
यसअघि प्रदेश सरकारले स्थानीय सरकारलाई दिएका अनुदानहरु चुहावट भएकाले त्यसले सरकारको आयदर उकास्न नसकेको उहाँको भनाई छ । आगामी बजेट उत्पादनमुखी नभए वा बजेटको स्रोत सुनिश्चिता नभए सरकारको अर्थतन्त्र खस्किने उहाँले बताउनुभयो । मन्त्री काफ्लेका अनुसार संविधानमा उल्लेख भएका मौलिक हकको सदुपयोग गरी उत्पादनमुखी विकासमा दुई तहको सरकार जोडिनुपर्नेछ । मन्त्री काफ्लेले प्रदेशको पहिलो प्राथमिकता उत्पादनमूखी बजेट निर्माण गर्नुरहेको रहेको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मेयर मीना कुमारी लामाले आगामी नीति, योजनामा प्रदेश सरकारले प्रशासनिक भवन निर्माणमा जोड दिनुपर्ने ध्यानाकर्षण गराउनुभयो । करिब ८ वर्षअघि स्थानीय सरकारले जग्गा उपलब्ध गराइसकेको तर हालसम्म पनि प्रदेश सरकारले भवन निर्माण गर्न नसकेकोमा त्यसलाई गम्भीरतापूर्वक ध्यानमा राखी सरकार सञ्चालन गर्न आग्रह गर्नुभयो । सरकारले लागत सहभागितामा अबको विकास योजना तय गर्नुपर्ने उहाँले बताउनुभयो ।











