हेटौँडा : उपभोक्ताको गुनासोका आधारमा हेटौँडा उपमहानगरपालिकाको नगर प्रहरीले हेटौँडा–१ स्थित समोसा हाउसबाट मिठाई जफत गरेको छ । हेटौँडा–२ का एक उपभोक्ताले आइतबार बिहान किनेको मिठाई खानै नसकिने साह्रो परेपछि उपभोक्ताले उपमहानगरपालिकामा गुनासो गरेका थिए ।
उपभोक्ताको गुनासोका आधारमा नगर प्रहरीले आइतबार दिउँसो मिठाई जफत गरेको हेटौँडा उपमहानगरपालिकाको नगर प्रहरी प्रमुख नेत्रप्रसाद ढकालले जानकारी दिनुभयो । ‘उपभोक्ताको लिखित गुनासोका आधारमा हामीले मिठाई पसल अनुगमन गरेर मिठाई जफत गरेका छौं’, नगरप्रहरी प्रमुख ढकालले भन्नुभयो, ‘सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रयोगशालामा परीक्षण गरिनेछ ।’
चाडपर्वको समयमा उपभोक्ताको माग उच्च हुँदा व्यवसायीले खाद्य वस्तु उत्पादनमा कमिकमजोरी गर्ने, अखाद्य वस्तु प्रयोग गरी मिठाई लगायतका वस्तु तयार पार्ने जोखिम रहने गरेका छन् । उपभोक्ताको अधिकार सुनिश्चित हुने गरी सरकारी संयन्त्रले बजार अनुगमन र कारवाही गर्न भने असफल हुने गरेको छ ।











