हेटौँडा : राष्ट्रसेवक कर्मचारीहरुको संस्था कर्मचारी मिलन केन्द्र मकवानपुरको अध्यक्षमा कर्मचारी सञ्चय कोषका डा. दिलिप राज पौडेल चयन हुनुभएको छ । शनिबार हेटौँडामा सम्पन्न वार्षिक साधारणसभाबाट डा. पौडेलको अध्यक्षतामा नयाँ समिति चयन भएको हो ।
केन्द्रको उपाध्यक्षमा जिल्ला समन्वय समिति मकवानपुरकी शान्ति विश्वकर्मा र जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज राज पौडेल चयन हुनुभएको छ । डिभिजन वन कार्यालय मकवानपुरका बसन्तराज गौतम सचिव चयन हुनुहुँदा सहसचिवमा संघीय जलाधार व्यवस्थापन स्रोत केन्द्र कुलेखानीका निकेश कठायत चयन हुनुभएको छ । कोषाध्यक्षमा भौतिक पूर्वाधार विकास मन्त्रालयका श्रीराम पुडासैनी चयन हुनुभएको छ ।
केन्द्रकी कार्यवाहक अध्यक्ष शान्ति विश्वकर्माको अध्यक्षता तथा केन्द्रका संरक्षक मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । साधारणसभामा कार्यवाहक अध्यक्ष शान्ति विश्वकर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । केन्द्रका कोषाध्यक्ष श्रीराम पुडासैनीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारणसभाको अवसरमा नयाँ सदस्यलाई स्वागत गरिएको थियो भने अवकाश प्राप्त कर्मचारीहरूको सम्मानसँगै वनभोज कार्यक्रम भएको थियो ।