हेटौँडा : हेटौँडा–काठमाडौं कान्ति लोकपथ १५ दिन दैनिक ६ घण्टा बन्द हुने भएको छ । सो सडक मर्मत गर्नुपर्ने भएकाले यही बैशाख १८ गतेदेखि जेठ १ गतेसम्म दैनिक ६ घण्टा बन्द हुने भएको हो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै कान्ति लोकपथमा बिहान १० बजेबाट साँझ ४ बजेसम्म सवारी आवागमन बन्द हुने जनाएको हो । सूचना अनुसार मकवानपुरको बकैया गाउँपालिकास्थित ठिगन–बगुवा सडक खण्डमा सडकको फराकिलो बनाउने कार्य भइरहेको छ । ठिंगन–बगुवा सडकखण्ड अन्तर्गत गंगटे नजिकैको भ¥याङडाँडामा सडक फराकिलो बनाउनका लागि चट्टान कटानको कार्य गरिने भएकाले बैशाख १८ गतेदेखि जेठ १ गतेसम्म (१५ दिन) उक्त सडकखण्डमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बन्द हुने भएको हो ।
सो अवधिमा दैनिक ६ घण्टा उक्त सडकमा यातायात आवागमन बन्द रहने भएकोले सो अवधिमा काठमाडौं–हेटौँडा यात्रा गर्नुपर्ने सवारी साधनहरुले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासन कार्यालयले आग्रह गरेको छ । सो सडक कान्ति लोकपथ सडक आयोजना, चाकुपाट, ललितपुर मार्फत् ठेक्का लागेर एमएस सर्वशक्ति पञ्चकन्या सनस्टार जेभीले निर्माण गरिरहेको छ ।