हेटौँडा अस्पतालमा उपचाररत नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल ।

हेटौँडाः सवारी दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल घाइते हुनुभएको छ। आफैँले चलाएको स्कुटर दुर्घटनामा परेर अध्यक्ष पोखरेल घाइते हुनुभएको हो ।

हेटौँडा–५, पुष्पलालपार्क अगाडि स्कुटर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शनिबार बिहान ८ बजेको समयमा बागमती प्रदेश ०३–००१ प ५८०७ नम्बरको स्कुटर ब्रेकफेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो।

प्रवक्ता अर्यालका अनुसार अध्यक्ष पोखरेललाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ । अध्यक्ष पोखरेलको टाउको, निधार तथा दायाँ हातमा चोट लागेको र आइसीयूमा उपचार भइरहेको प्रवक्ता अर्यालले बताउनुभयो। अध्यक्ष पोखरेलको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ।नाएको छ ।