हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अस्पताल निर्माण गरेर मात्र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितता नहुने बताउनुभएको छ । उहाँले नागरिकको स्वास्थ्य सम्बन्धी अधिकार सुनिश्चिताका लागि सबै क्षेत्रले गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो । हेटौँडामा शुक्रबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित सबै नीतिमा स्वास्थ्य नीति कार्यान्वयन निर्देशिका सार्वजनिकीकरण गर्नुहुँदै मुख्यमन्त्री लामाले सबै मन्त्रालयहरुले नागरिकको स्वास्थ्य प्रति सचेत रहेर विकास आयोजना संचालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले आगामी बजेटमा स्वास्थ्य नीतिलाई प्राथमिकतामा राखेर मन्त्रालयहरुले विकास बजेट तयार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘अस्पताल भवन बनाएर, औजार उपकरण किनेर मात्र नागरिकको स्वास्थ्य अधिकार प्राप्त हुँदैन । सबै मन्त्रालयहरुले नागरिकको स्वास्थ्यको अधिकारप्रति गम्भीरताका साथ लिनुपर्छ’, मुख्यमन्त्री लामाले भन्नुभयो, ‘सबै मन्त्रालयहरुले बजेट कार्यक्रममा स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर विकास आयोजना संचालन गर्नुपर्छ । वन, वातावरण, भौतिक पूर्वाधार, यातायात, खानेपानी, कृषि, पर्यटन लगायतका क्षेत्रमा स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट निर्धारणसहित कार्यक्रम अघि बढाउनुपर्छ ।’
सरकारले विकास आयोजना र सेवा प्रवाहलाई पनि स्वास्थ्यका हिसाबले महत्वका साथ लिएको उहाँले दावी गर्नुभएको छ । प्रदेश सरकारले विकास आयोजनालाई सन्तुलित र व्यवस्थित रुपमा अघि बढाउन सबै नीतिमा स्वास्थ्य नीति लागु गरेको उहाँको भनाई छ ।