हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा बिहीबार ५ जनाले आत्महत्याको प्रयास गरेका छन् । प्रदेशको चितवन, सिन्धुपाल्चोक र नुवाकोटमा ४ जनाले विषादी सेवन गरेर आत्महत्याको प्रयास गरेका छन् भने एक जनाले झुण्डिएर आत्महत्याको प्रयास गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । आत्महत्या प्रयास गर्ने ४ जना महिला र १ जना पुरुष रहेका छन् ।

चितवन जिल्लाको राप्ती नगरपालिका–९, शितलटोलमा २३ वर्षीया सविना तामाङले विषादी सेवन गरेर आत्महत्याको प्रयास गरेकी छन् । बिहीबार बिहान ९ बजेको समयमा सविनाले आफ्नै घरमा नाम नखुलेको विषादी सेवन गरेको प्रहरीले जानकारी दिएको छ । सविनालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । सविनाको स्वास्थ्य अवस्था मध्यम रहेको र विषादी सेवनको कारण नखुलेको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१८, गुञ्जनगरमा ७० वर्षीया गोमा कोइरालाले विषादी सेवन गरेर आत्महत्याको प्रयास गरेकी छन् । गोमाले बिहीबार बिहान ९ बजेको समयमा आफ्नै घरमा नाम नखुलेको विषादी सेवन गरेको प्रहरीले जनाएको छ । गोमालाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ । गोमाको स्वास्थ्य अवस्था मध्यम रहेको र विषादी सेवनको कारण नखुलेको प्रहरीले जनाएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–१० की ३५ वर्षीया सुभद्रा भट्टले विषादी सेवन गरेर आत्महत्याको प्रयास गरेकी छन् । बिहीबार दिउँसो ४ बजेर ५० मिनेटको समयमा आफ्नै घरमा कोही नभएको अवस्थामा खुर्सानीमा हाल्ने विषादी सेवन गरेको प्रहरीले जानकारी दिएको छ । सुभद्रालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको छ । सुभद्राको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६, बतासेमा ४५ वर्षीया छलमाया तामाङले युरिया मल खाएर आत्महत्याको प्रयास गरेकी छिन् । बिहीबार दिउँसो १२ बजेको समयमा तामाङले आफ्नै घरमा युरिया मल सेवन गरी अशक्त अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । तामााङलाई उपचारका लागि काठमाडौंस्थित नेपाल मेडिकल कलेज लगिएको छ । तामाङले विषादी सेवन गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३, ठुलोशिरुबारीमा एक जना पुरुषले झुण्डीएर आत्महत्याको प्रयास गरेका छन् । बिहीबार राती ८ बजेको समयमा भुईमाले टोल बस्ने ३८ वर्षीय ज्ञान बहादुर गिरीले आत्महत्याको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ । गिरी आफ्नै बारीमा रहेको कोईरालोको रुखमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका थिए । गिरीलाई उपचारका लागि जिल्ला अस्पताल चौतारा लगिएको छ । गिरीको स्वास्थ्य अवस्था गम्भीर रहेको र आत्महत्याको कारण नखुलेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय आत्महत्या घटना उल्लेख्य देखिन्छ । प्रहरी अधिकारीका अनुसार परिवारमा आर्थिक समस्या, पारिवारिक कलह, झैझगडा, आपसमा रिस, घुर्कीकै कारण, आफ्नो व्यवसायिक तथा पेशागत जीवनमा देखा पर्ने विविध खालका समस्याको सामना गर्न नसक्दा आत्महत्याको प्रयास हुने गरेको छ । आत्महत्याका घटना उल्लेख्य भए पनि यसको न्यूनीकरणको प्रयास भएको देखिँदैन ।