हेटौँडा : हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख स्व. मुकुन्ददास श्रेष्ठको स्मृति सभा आयोजना गरिएको छ । २०७२ सालको भूकम्पमा परी काठमाडौंमा श्रेष्ठको निधन भएको थियो ।
भूकम्पमा ज्यान गुमाउनुभएका संस्थापक क्याम्पस प्रमुखको सम्मान र स्मृतिका लागि मकवानपुर बहुमुखी क्याम्पस परिसरमा संस्थापक क्याम्पस प्रमुख श्रेष्ठको अर्धकदको प्रतिमा समेत स्थापना गरिएको छ । शुक्रबार बिहान स्व. मुकुन्ददास श्रेष्ठको अर्धकदको प्रतिमामा माल्यार्पण गरी स्मृति दिवस मनाइएको हो । कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेल, उपाध्यक्ष अशोक शाक्य, क्याम्पस प्रमुख डा. यमबहादुर सिलवाल, पूर्वविद्यार्थी प्रताप विष्टसहित प्राध्यापक, कर्मचारी, विद्यार्थीको उपस्थिति रहेको थियो ।
पूर्वविद्यार्थी प्रताप विष्टले संस्थापक क्याम्पस प्रमुख मुकुन्ददास श्रेष्ठको योगदानको चर्चा गर्नुहुँदै उहाँको सम्मानमा पूर्वविद्यार्थी सक्रियता, क्याम्पसका सञ्चालक, प्रशासक, प्राध्यापक, कर्मचारीको सहयोगमा संस्थापक क्याम्पस प्रमुखको प्रतिमा निर्माण गरिएको जानकारी दिनुभयो । गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु बनाएर २०७२ साल बैशाख १२ गते गएको भूकम्प र त्यसपछिका साना–ठूला पराकम्पका कारण राजधानी काठमाडौं उपत्यका, मकवानपुर जिल्लासहित १४ जिल्लामा गम्भीर क्षति पुगेको थियो । भूकम्पमा परी झण्डै ९ हजारको ज्यान गएको थियो । मकवानपुरमा ४१ जनाको मृत्यु भएको थियो ।