हेटौँडा : आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा मकवानपुरको थाहा नगरपालिका–१, कुन्छालका ३६ वर्षीय ध्रुबलाल गोपाली पक्राउ परेका छन् । १३ वर्षीया छोरीमाथि २०८० भदौदेखि कात्तिक महिनाको अवधिमा पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा ध्रुबलाललाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।

जेठी श्रीमतिबाट जन्मिएकी छोरीलाई पटक पटक जबर्जस्ती करणी गरेको भनी पीडित किशोरी र उनका आफन्त, वडाका जनप्रतिनिधि समेतको उपस्थितिमा सोमबार उजुरी प्राप्त भएपछि प्रहरीले ध्रुबलाललाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सविन बाबु अर्यालले जानकारी दिनुभयो । ध्रुबलाललाई सोमबार जिल्ला प्रहरी कार्यालय पठाइने उहाँले जानकारी दिनुभयो । पीडित किशोरीलाई ५ वर्षको उमेरमै आमाले छाडेर गएको बुझिएको प्रहरीको भनाइ छ । ध्रुबलालको कान्छी श्रीमतिबाट एउटा छोरा रहेको प्रहरीले जानकारी दिएको छ ।