हेटौँडा : मानवसेवा आश्रमले साप्ताहिक रूपमा सञ्चालन गर्दै आएको रात्रीकालीन सडक सेवाअन्तर्गत शनिबार ७ जनाको उद्दार गरेको छ । शनिबार राती गरिएको उद्दार अभियानमा सडकमा आश्रित अन्दाजी १४ वर्षीया बालिका, एक महिला र ५ जना पुरुषकोे उद्दार गरिएको आश्रमकी मकवानपुर संयोजक ईशा थापाले जानकारी दिनुभयो ।
आश्रमले साप्ताहिक रूपमा सञ्चालन गर्ने सेवामार्फत सडकमा आश्रित अवस्थामा रहेका नागरिकहरूको उद्दार गरी सुरक्षित आवास, उपचार र पुनःस्थापनाको व्यवस्था गर्दै आएको संयोजक थापाले जानकारी दिनुभयो । हेटौँडा बजारको सिमाचोकदेखि भुटनदेवी मन्दिर, बसपार्क, स्वर्गद्वारी क्षेत्र हुँदै तरकारी बजारसम्मको सडक क्षेत्रमा सेवा सञ्चालन गरिएको थियो । उद्दार अभियानमा मानवसेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमल्सिना, नगर प्रहरी, आश्रमका अभिभावक, जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुरक्षाकर्मी तथा स्वयंसेवकहरूको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।
उद्दार गरिएका ७ जनालाई आश्रममा लगेर नुहाइधुवाइ, खाना, स्वास्थ्य परीक्षण र प्राथमिक उपचार सेवा प्रदान गरिएको उहाँको भनाई छ । आश्रमले दैनिक रुपमा उद्दार गर्दै आए पनि प्रत्येक महिनाको शनिबार नियमित रूपमा सडकमा आश्रितहरुलाई उद्दार गर्दै आएको छ । मानवसेवा आश्रमले देशभरि मानसिक सन्तुलन गुमाएका, बेवारिसे र सडकमा जीवन बिताइरहेका व्यक्तिहरूको उद्दार र पुनःस्थापनामा काम गर्दै आएको छ । मानवसेवा आश्रम हेटौडामा २५० जना आश्रित छन् ।