हेटौँडाको एक निजी विद्यालय परिसरमा अध्ययन गर्दै विद्यार्थी । फाइल तस्वीर ।

हेटौँडा : मकवानपुरका संस्थागत विद्यालयहरुमा आज आइतबारबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुरको वार्षिक कार्यतालिकाअनुसार आज आइतबारबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुचारु गरिएको हेटौँडा–१८, खड्कुलेस्थित मकवानपुर बालविद्या सदनका प्रिन्सीपल सुदीप राज गिरीले जानकारी दिनुभयो ।

आजबाट अधिकांश विद्यालयमा पठनपाठन सुरु भएको उहाँको भनाइ छ । यसै सातादेखि सबैजसो संस्थागत विद्यालयले पठापनठ सुचारु गर्ने उहाँको भनाइ छ । यता सामुदायिक विद्यालयमा भने शिक्षक आन्दोलनका कारण भर्ना अभियान नै सुरु हुन सकेको छैन । भर्ना अभियानसँगै नियमित पठनपाठन सुरु गर्नुपर्ने समयमा शिक्षकहरु आन्दोलित छन् । काठमाडौं केन्द्रित आन्दोलनका कारण विद्यालयको नियमित कामकारवाही प्रभावित भइरहेको छ भने नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने विषय अनिश्चित बनेको छ ।