हेटौँडा : साहित्य संगम मकवानपुर र हेटौँडा–१० स्थित आदर्श टोल विकास संस्थाको संयुक्त आयोजनामा पारिजात स्मृति दिवस मनाइएको छ । हेटौँडा–१०, बसपार्कस्थित पारिजातको प्रतिमामा माल्यार्पणका साथै पारिजातद्वारा लिखित तथा उपस्थित रचनाकारहरूको रचना वाचन गरी पारिजात स्मृति दिवस मनाइएको हो ।
साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा पारिजात स्मृति कार्यक्रम भएको हो । आदर्श टोल विकास संस्थाका सचिव नमराज न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रममा साहित्यकार देवराज तिवारीले पारिजातको व्यक्तित्व बारे जानकारी गराउनुभएको थियो । वडा अध्यक्ष लामाले बसपार्क क्षेत्रमा स्थापना हुँदै गरेको घण्टाघरमा पारिजात स्मृति कक्ष रहने र पारिजातसँग सम्बन्धित विभिन्न पुस्तकका साथै खोजमूलक सामग्रीहरू अध्ययन गर्न सकिने बताउनुभयो । कार्यक्रममा देवराज तिवारी, पुरुषोत्तम आचार्य र संप्रस पौडेलले कविता वाचन गर्नुभएको थियो ।