नेशनल क्रिकेट एकेडेमीलाई उपाधि हस्तान्तरण गरिँदै ।

हेटौँडा : हेटौँडा स्पोर्टस एकेडेमीको आयोजनामा भएको यु–१६ त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिताको उपाधि नेशनल स्पोर्टस् एकेडेमीले जितेको छ । बिहीबार भएको फाइनल खेल वर्षाका कारण प्रभावित बनेको थियो । वर्षाका कारण डकवर्थ लेविस सिस्टम (डीएएस) मा रोयल एकेडेमी नवलपुरलाई ३१ रनले पराजित गर्दै नेशनल स्पोर्टस् एकेडेमी बीरगन्जले उपाधि जितेको हो ।

हुप्रचौरमा भएको फाइनल खेलमा पहिले व्याटिङ गरेको स्पोर्टस् क्रिकेट एकेडेमीले ७ विकेटको क्षतिमा निर्धारित २० ओभर खेल्दै १ सय ४६ रन जोडेको थियो । जवाफी व्याटिङमा उत्रिएको रोयल क्रिकेट एकेडेमीले ७ विकेटको क्षतिमा १४ ओभरमा ८० रन जोड्दै गर्दा खेल वर्षाले खेल प्रभावित बनेको थियो । खेल जारी रहँदा पानीले अवरुद्ध गरे पश्चात डिएलएस विधिबाट निर्णय लिइएको थियो । बुधबार र बिहीबार दुई दिन मकवानपुर, पर्सा र नवलपुर जिल्लाका तीन क्लबबीच यु–१६ त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगितिा भएको हो ।

प्रतियोगिताभर ६७ रन जोडेका नेशनल स्पोर्टस् एकेडेमीका समीम मिया प्लेयर अफ द सिरिज घोषित भए । ६१ रन बनाएका रोयल क्रिकेट एकेडेमीका प्राञ्जल पौडेल उत्कृष्ट व्याट्सम्यान घोषित भए । ५ विकेट लिएका नेशनल स्पोर्टस् एकेडेमीका निरज यादव उत्कृष्ट बलर घोषित भए । प्रतियोगिताको उपाधि विजेता र उपविजेताले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।