
हेटौँडा : मकवानपुरका ३३ हजार बढी बालबालिकालाई आज शनिबार र भोलि आईतबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिना उमेरसम्मका ३३ हजार ३१० जना बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन लागिएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै जिल्लाको दश वटै स्थानीय तहमा १२ महिनादेखि ५९ महिनासम्मका २९ हजार ३९९ जना बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको कार्यालयले जनाएको छ । जिल्लाका १० वटा पालिकामध्ये सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा १४ हजार ५८७ जना बालबालिकालाई भिटामिन ‘ए’ र १२ हजार ८७३ जना बालबालिकालाई जुकाको औषधि खुवाइनेछ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकामा ९४६ बालबालिकालाई भिटामिन ए र ८३५ बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यालयका खोप फोकल पर्सन बासुदेव रिमालले जानकारी दिनुभयो ।
यस्तै जिल्लाको थाहा नगरपालिकामा २ हजार ६८३ जना बालबालिकालाई भिटामिन ‘ए’ र २ हजार ३६८ जनालाई जुकाको औषधि, मनहरी गाउँपालिकामा ३ हजार ५३९ जना बालबालिकालाई भिटामिन ‘ए’ र ३ हजार १२५ जनालाई जुकाको औषधि, कैलाश गाउँपालिकामा १ हजार ४९८ जना बालबालिकालाई भिटामिन ‘ए’ र १ हजार ३२२ जनालाई जुकाको औषधि, राक्सिराङ गाउँपालिकामा १ हजार ८२५ जना बालबालिकालाई भिटामिन ‘ए’ र १ हजार ६११ जनालाई जुकाको औषधि, भीमफेदी गाउँपालिकामा १ हजार ४७९ जना बालबालिकालाई भिटामिन ‘ए’ र १ हजार ३०६ जनालाई जुकाको औषधि खुवाइँदैछ । मकवानपुरगढी गाउँपालिकामा १ हजार ७०६ जना बालबालिकालाई भिटामिन ‘ए’ र १ हजार ५०४ जनालाई जुकाको औषधि, बकैया गाउँपालिकामा २ हजार ९०६ जना बालबालिकालाई भिटामिन ‘ए’ र २ हजार ५६५ जनालाई जुकाको औषधि र बागमती गाउँपालिकामा २ हजार १४१ जना बालबालिकालाई भिटामिन ‘ए’ र १ हजार ८९० जना बालबालिकालाई जुकाको औषधि खुवाइने रिमालले बताउनुभयो ।
राष्ट्रिय कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि सबै पालिकामा पठाइसकिएको साथै भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन जिल्लाभर ४ सय ६४ जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिने जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो । यस्तै अभियानकै क्रममा ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइने र नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने उहाँले बताउनुभयो । आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन कार्यालयले आग्रह गरेको छ । यो कार्यक्रम हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते र दोस्रो चरणमा वैशाख ६ र ७ गते देशैभर सञ्चालन गर्ने गरिएको छ ।