सिटिजन्स बैंकको आयोजनामा भएको कार्यक्रममा रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको दुई स्थानमा शुक्रबार रक्तदान कार्यक्रम भएको छ । हेटौँडा–१८, हर्नामाडी र हेटौँडा–४, पारिजातपथमा भएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् ।

हेटौँडा–१८, हर्नामाडीमा मकवानपुर पूर्वि नगर इसाई समन्वय समितिले गुड फ्राइडेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा १३ जनाले रक्तदान गरेका छन् । यस्तै हेटौँडा–४, पारिजातपथस्थित सिटिजन्स बैंकको कार्यालय परिसरमा भएको कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । सिटिजन्स बैंकको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम भएको हो ।

दुबै स्थानमा भएको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । पछिल्लो समय नियमित रक्तदान कार्यक्रम भइरहेकोले रक्तसञ्चार केन्द्रमा रगतको अभाव नरहेको बताइएको छ । शनिबार बिहान लायन्स क्लबको आयोजनामा हेटौँडा–४ स्थित रोयल प्यालेसमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।